विराटनगर । कोशी प्रदेशको सत्ता राजनीतिमा भइरहने उतारचढावका बीच नेपाली कांग्रेसका नेता प्रदिपकुमार सुनुवार चौथोपटक मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार सुनुवारलाई प्रदेशको महत्वपूर्ण जिम्मेवारी मानिने भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका हुन् । उक्त मन्त्रालयले प्रदेश सरकारको कूल बजेटको ४० प्रतिशत हिस्सा खर्च गर्छ ।
सुनुवारको मन्त्री पदको यात्रा अत्यन्तै उतारचढावपूर्ण र अस्थिर राजनीतिको प्रतिविम्ब जस्तै बनेको छ । २०८० साल असार २१ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका उद्धब थापाले असार २२ गते सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए । तर, सर्वोच्च अदालतको परमादेशले साउन ११ गते सरकार ढलेसँगै उनको पहिलो कार्यकाल २१ दिनमै सकियो । त्यसबेला उनले मन्त्रालयको जिम्मेवारी समेत पाउन सकेनन्, केवल ‘बिना विभागीय’ मन्त्रीका रूपमा झण्डा हल्लाउने अवसर मात्र पाए ।
पुनः २०८० साउन १६ गते उद्धब थापा दोस्रोपटक मुख्यमन्त्री बनेपछि सुनुवार साउन १७ गते खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री बने । तर, भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिएको भन्दै सर्वोच्चले भदौ २१ गते पुनः सरकार बर्खास्त गरिदिएपछि उनको दोस्रो कार्यकाल ३७ दिनमा सीमित भयो ।
त्यसपछि २०८० असोज २७ गते केदार कार्कीको नेतृत्वमा बनेको सरकारमा सुनुवार २०८० माघ २६ गते स्वास्थ्य मन्त्री बनेका थिए । सो सरकार २०८१ वैशाख २७ सम्म रहँदा उनले करिब ७ महिना काम गर्ने अवसर पाए । अहिले २०८२ पुस २२ गते उनी चौथोपटक मन्त्री बन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका हुन् ।
नेपाली कांग्रेस र एमालेबीच २०८४ को निर्वाचन अघिसम्म आधा–आधा समय सरकारको नेतृत्व गर्ने भद्र सहमति छ । सोही सहमति अनुसार अहिले कार्की नेतृत्वको सरकार चलिरहेको छ । यद्यपि, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि केन्द्रको राजनीतिक समीकरण फेरबदल भएमा कोशी सरकारको आयु लम्बिने भन्दा पनि छोटिन सक्ने विश्लेषण गरिएको छ । आलोपालो सहमति कायम हुने हो भने पनि आउने आर्थिक वर्षको बजेट वक्तव्य नयाँ सरकारले ल्याउन सक्छ । बजेट ल्याएपनि कार्यान्वयन गर्न कार्की नेतृत्वको सरकारले नपाउने सम्भावना उक्तिकै छ ।
को हुन् प्रदिपकुमार सुनुवार ?
२०२७ साल वैशाखमा ओखलढुङ्गाको खिजिदेम्बामा जन्मिएका सुनुवार २०४३ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । एसएलसीसम्मको अध्ययन गरेका उनी २०५४ सालमा खिजीखोला गाविसको अध्यक्ष भएका थिए ।
नेपाली कांग्रेसको ओखलढुँ्गा जिल्ला सभापति हुँदै हाल उनी केन्द्रीय सदस्य रहेका छन् । २०७४ को निर्वाचनमा माओवादीका मोहन खड्कासँग पराजित भएका उनी २०७९ को निर्वाचनमा भने माओवादीकै सहयोगमा एमालेका हेभीवेट उम्मेदवार अम्बिरबाबु गुरुङलाई पराजित गर्दै ओखलढुङ्गा १(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । पटक–पटक मन्त्री बने पनि स्थिर कार्यकाल पाउन नसकेका सुनुवारका लागि यो चौथो अवसर कत्तिको फलदायी हुनेछ भन्नेमा सबैको चासो रहेको छ । उनी पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।