लोड हुँदैछ...

मेनु

कोशीमा हात्ती नियन्त्रणमा वार्षिक करोडमा खर्च, नागरिकलाई भने अझै राँको र साइरनकै भर !

कोशीमा हात्ती नियन्त्रणमा वार्षिक करोडमा खर्च, नागरिकलाई भने अझै राँको र साइरनकै भर !

विराटनगर । कोशी प्रदेशको पाँच जिल्लामा पछिल्लो १४ वर्ष ४ महिनामा हात्तीको आक्रमणबाट १०४ जनाको मृत्यु भएको छ । २०६८ देखि २०८२ सम्म १४ वर्ष ४ महिनामा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम गरि पाँच जिल्लामा हात्तीको आक्रमणबाट १ सय ४ जनाको मृत्यु भएको हो ।

यो अवधिमा गम्भिर घाइते ९२ र सामान्य घाइते २१ जना भएका छन् । घर गोठ १६ सय ५८ वटा क्षति पर्याएको प्रदेश वन निर्देशनालय कोशीले जनाएको छ । कोशीको पाँच जिल्ला मध्ये झापा हात्तीको सबैभन्दा ठूलो ‘इपिसेन्टर’ बनेको छ ।
चालु आर्थिक वर्षको चार महिना (मंसिरसम्म) मात्रै ४ जनाको मृत्यु र १० जना घाइते भइसकेका छन् । चालु आवमा मृत्यु हुने झापा २ र मोरङमा २ जना रहेका छन् ।

हात्ती र मानिसबीचको द्वन्द्वका कारण हुने मानवीय क्षतिको ग्राफ वर्षैपिच्छे उकालो लाग्नु निकै चुनौतीपूर्ण बनेको छ । यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले हात्ती प्रभावित क्षेत्रहरूमा विभिन्न प्रवद्र्धनात्मक र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव ईन्द्र प्रसाद सापकोटाले बताए । ‘‘हामीले झापा, मोरङ, सुनसर र उदयपुर जस्ता अत्यधिक प्रभावित जिल्लाहरूमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र उद्धारका लागि पशु चिकित्सक (भेटेरिनरी डाक्टर) सहितको विशेष वन कर्मचारी टोली परिचालन गरेका छौँ । यो टोलीले घाइते वा बस्तीमा पसेका वन्यजन्तुको तत्काल उद्धार, उपचार र उचित व्यवस्थापनमा काम गर्नेछ,’’ उनले भने, ‘ प्रभावित क्षेत्रमा द्वन्द्व घटाउन र वन तथा जैविक विविधता जोगाउन निर्देशनालयले स्रोत र साधनको अधिकतम परिचालन गरिरहेको छ । द्वन्द्व न्यूनीकरणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता पनि उत्तिकै आवश्यक देखिन्छ ।’’

हात्तीको उपद्रो मानवीय ज्यान लिनमा मात्र सीमित छैन । पाँच वर्ष ४ महिनामा मात्रै हात्तीले ९ करोड ५३ लाख १२ हजार ३ सय ४० रुपैयाँ बराबरको भौतिक क्षति पु¥याएको छ । जसमा अन्नबालीदेखि घरभित्रका खाद्यान्न र संरचनाहरू पर्ने प्रदेश वन निर्देशनालयका कोशीका निर्देशक भरत बावु श्रेष्ठले बताए । ‘‘मानवीय क्षतिको ग्राफ वर्षैपिच्छे उकालो लागिरहेकोले हात्ती प्राभावित क्षेत्रमा प्रवद्धत्मक कामहरु भइरहेको छ,’’ उनले भने ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने व्यवस्था गरेको छ । प्रदेश वन निर्देशनालय कोशीका सूचना अधिकारी योगिन श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म ९९ जना मृतकका परिवारलाई १० करोड ५९ लाख ६६ हजार १३ रुपैयाँ राहत वितरण गरिएको छ ।

हात्ती नियन्त्रण र न्यूनीकरणका लागि संघ र प्रदेश सरकारले वार्षिक करोडौँ खर्चिन्छन् । कोशी प्रदेशमा प्रत्येक वर्ष संघ, प्रदेश र स्थानीय तह गरेर ६ करोड बढी हात्ती नियन्त्रण, न्यूनीकरण र राहतमा खर्च हुने गरेको छ । सरकारले आधुनिक उपकरण खरिद गर्न र प्रभावकारी सुरक्षा रणनीति बनाउन नसक्दा सर्वसाधारणको ज्यान ‘साइरन’ को भरमा छ । चालु आर्थिक वर्षमा मात्रै संघ र प्रदेश सरकारबाट हात्ती नियन्त्रण, रोकथाम र बाली बिमाका लागि ६ करोड १४ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । गत वर्ष पनि ४ करोड ८३ लाख बजेट विनियोजन गरिएकोमा ४ करोड १२ लाख ९६ हजार रुपैयाँ खर्च भएको वन निर्देशनालय सूचना अधिकारी श्रेष्ठले बताए ।

यति ठूलो बजेट विनियोजन हुँदा पनि स्थानीय बासिन्दाले भने आफ्नै मौलिक र असुरक्षित तरिका अपनाउनुपर्ने बाध्यता छ । जब हात्ती बस्ती पस्छ, स्थानीयले थाल ठटाउने, राँको बाल्ने र नगरपालिकाको दमकलबाट साइरन बजाउने बाहेक अर्को उपाय पाउँदैनन् । “जिल्ला तहको जनशक्तिले यो विकराल समस्या समाधान गर्न असम्भव छ,’’ डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा भन्छन्, “हामीसँग न त तालिमप्राप्त भेटेरिनरी टोली छ, न त आधुनिक उपकरण । हात्ती भगाउन साइरन र सचेतना बाहेक हामीसँग केही छैन ।’’

सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की पनि दमकलको साइरन बजाएर हात्ती भगाउनु नै प्रभावकारी उपाय भइरहेको बताउँछन् । ‘‘अहिले हामीसँग भएको उपकरण नै दमकल हो । दमकलमा जडान गरिएको साइरन बजाउनुको साथै पटका, बिजुली बत्ती र प्लाष्टिकको गन प्रयोग गरेर हात्ती भगाउने गरिएको छ,’’ उनले भने, ‘‘हात्तीको रोकथाम र नियन्त्रणमा वार्षिक ४ लाख बजेट खर्च हुने गरेको छ । ’’

जबसम्म हात्तीको मार्ग र बासस्थानलाई सम्मान गरिँदैन र प्रविधिको प्रयोग गरी मानव–हात्ती द्वन्द्व व्यवस्थापनको वैज्ञानिक योजना कार्यान्वयन हुँदैन, तबसम्म झापा, मोरङ र सुनसरीका बस्तीहरूमा हात्तीको कहर अन्त्य नहुने हात्ती विज्ञ तथा संरक्षणकर्मीहरू बताउँछन् । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत एवं हात्ती विज्ञ डा. अशोक रामले हात्ती र मानिसबीचको बढ्दो द्वन्द्व न्यूनीकरणका लागि हात्तीको व्यवहार बुझ्न र नीतिगत सुधार गर्न आवश्यक रहेको बताए । भारतको देहरादुनस्थित वाइल्ड लाइफ इन्स्टिच्युट अफ इन्डियाबाट ‘इलाफेन्ट इकोलोजी’मा विद्यावारिधि गरेका डा. राम भन्छन्,’ “भारतको पश्चिम बंगालबाट मेची तरेर आउने हात्तीहरू मोरङको सुन्दर हरैंचा, लेटाङ हुँदै चतरासम्म पुग्छन् ।’’

पछिल्लो १४ वर्षमा २१ वटा हात्ती मारिएका छन् । कतिपय हात्ती करेन्ट लागेर मरेका छन् भने कतिपयलाई मानिसले आक्रमण गरी मारेका छन् । यो मानव र वन्यजन्तुबीचको एक डरलाग्दो युद्ध जस्तै बनेको छ । अर्का हात्ती संरक्षणकर्मी तथा झापाको मेचीनगरपालिका ४ का वडाअध्यक्ष समेत रहेका अर्जुन कार्कीका अनुसार अहिले भारतबाट नेपाल छिरेका करिब ८४ वटा हात्तीमध्ये ५० भन्दा बढी मोरङका वन क्षेत्रमा छन् । भन्छन्, “हामीले जताततै विद्युतीय तार लगाएर उनीहरूको बाटो छेकिदियौँ, जसले हात्तीलाई झन् आक्रामक र ‘बदमास’ बनाइदिएको छ ।’’ हात्तीबाट जोगिन वनमा हात्तीको पाइला वा आलो दिसा देखिएमा बाटो मोड्नुपर्ने र गाउँमा हात्ती आएमा तत्काल विज्ञलाई खबर गर्नुपर्ने उनको सुझाव छ । द्वन्द्व रोक्नका लागि हात्ती हिँड्ने मार्गका ‘हटस्पट’ पहिचान गरी त्यहाँ सचेतना र पूर्वाधार निर्माण गर्नुपर्नेमा उनको भनाई छ । “हात्ती भगाउने र उद्धार गर्ने तालिम वनका कर्मचारीलाई दिनुपर्छ र स्थानीयलाई पनि करेन्ट वा भाला प्रयोग नगर्न सिकाउनुपर्छ,’’ उनी भन्छन् ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल भने अब ‘हात्ती करिडोर’ बनाएरै समस्या समाधान गर्ने दाबी गर्छन् । झापा, मोरङ र सुनसरीको क्षेत्रमा हात्तीको मार्ग पहिचान गरी त्यहाँका बस्ती खाली गराउने र एउटा निश्चित बाटो बनाउने योजना सरकारको छ । “त्यसको लागि हामीले बजेट पनि विनायोजन गरिएको छ । हामी नेपाल प्रकृति संरक्षण कोषसँग समन्वय गरिरहेका छौँ र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल भइरहेको छ,’’ मन्त्री मण्डलले भने ।

तस्वीर सौजन्य : कृष्ण सिंजाली

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।