विराटनगर । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य सुदन किराती आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको सुनसरी जिल्ला कार्यसमिति आगामी निर्वाचनका लागि उनलाई सर्वसम्मत रूपमा सिफारिस गरेको हो । प्रगतिशील लोकतान्त्रिक पार्टीका सुनसरी इन्चार्ज शालिक राईले काठमाडौँको सुविधानगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्र पठाउँदै किरातीको नाम उम्मेदवारका लागि सिफारिस गरेका हुन् ।
यसअघि २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा किराती तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट भोजपुरबाट निर्वाचित भएका थिए । तर, माओवादी केन्द्र दर्जनभन्दा बढी वाम दलहरूसँग एकीकृत भई (नेपाली कम्युनिस्ट पार्टी)बनेपछि नेता जनार्दन शर्मासँगै अलग भएका किराती अहिले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीमा क्रियाशील छन् ।
भोजपुरमा आफ्नो बलियो पकड रहे पनि किराती यसपटक सुनसरी–१ बाट चुनाव लड्ने तयारीमा लागेका हुन् । यो क्षेत्र धरान उपमहानगरपालिकामा पर्छ, जहाँका मेयर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ रहेका छन् ।
साम्पाङले आगामी निर्वाचनमा कुन क्षेत्रबाट चुनाव लड्ने भन्नेबारे अहिलेसम्म कुनै औपचारिक घोषणा भने गरेका छैन्न ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।