धरान । कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरान फाइनलमा प्रवेश गरेको छ।
बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा प्रभात स्कुलले पिना काल ज्ञान मन्दिर कानेपोखरी, मोरङलाई ४–० गोलअन्तरले पराजित गर्दै उपाधि होडमा स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो हाफको ७ औँ मिनेटमा तथा दोस्रो हाफको १२ औँ मिनेटमा प्रभातका भुवन भण्डारीले २ गोल गरे। त्यसैगरी दोस्रो हाफको २० औँ र २९ औँ मिनेटमा निम्साङ मगरले थप दुई गोल गर्दै टिमको जित सुनिश्चित गरे।
खेलभर पिना काल ज्ञान मन्दिरले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन। खेलको म्यान अफ द म्याच प्रभात स्कुलका भुवन भण्डारी घोषित भए। उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रफीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी थिए ।
आयोजकका अनुसार शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस स्कुल रेड र प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानबीच प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।