इटहरी । दोस्रो डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डिभिएम सगरमाथाले जितेको छ।
बुधबार इटहरीमा सम्पन्न फाइनल खेलमा डिभिएम सगरमाथाले जनता माध्यमिक विद्यालय, इटहरीलाई १० रनले पराजित गर्दै उपाधि हात पारेको हो।
इटहरी–९ स्थित नेपाल डिभिएम ग्लोबल एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको डिभिएम सगरमाथाले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै ७९ रन बनायो। टोलीका लागि रिवाज बोहराले नटआउट २४ रन र आयुष पोखरेलले नटआउट २२ रनको योगदान दिए।
जवाफमा ८० रनको लक्ष्य पछ्याएको जनता माध्यमिक विद्यालयले १० ओभरमा ६ विकेट गुमाउँदै ६९ रन मात्र बनाउन सक्यो। जनताका एसान खानले सर्वाधिक २३ रन बनाउँदा अंकित दासले १८ र प्रवीण मण्डलले १२ रन जोडे।
विजेता डिभिएम सगरमाथाले नगद २५ हजार रुपैयाँ र उपविजेता जनता माध्यमिक विद्यालयले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जनता माविका एसान खान घोषित भए।
डिभिएमका ग्रिस भट्टराई उत्कृष्ट ब्याटर, दिवस विष्ट उत्कृष्ट बलर तथा क्षितिज तिम्सिना उदयमान खेलाडी घोषित भए भने कोसी सेन्ट जेम्सका रोमन राज अधिकारी उत्कृष्ट फिल्डर बने। रामधुनीको युनिक एकेडेमीले अनुशासित टिमको उपाधि जित्यो।
विजेता तथा उपविजेता टिमलाई कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डे, इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापा र डिभिएम स्कुलका प्राचार्य वेणुप्रसाद सिटौलालगायतले पुरस्कार प्रदान गरे। सुनसरीमै पहिलो पटक विद्यालयस्तरमा लेदर बल प्रयोग गरी आयोजना गरिएको प्रतियोगितामा मोरङ र सुनसरीका १९ विद्यालय सहभागी थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।