लोड हुँदैछ...

मेनु

डिआर्ईजी कपको फाइनलमा नेपाल पुलिस स्कूल (रातो)

डिआर्ईजी कपको फाइनलमा नेपाल पुलिस स्कूल (रातो)

धरान । सातौँ कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगितामा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) फाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल धरान (रातो) ले सिद्धार्थ सेकेन्डरी स्कुल सुन्दरहरैँचा, मोरङलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

पुलिस स्कुलको जितमा विप्लव थापा, समिर राई र विकास मगरले एक–एक गोल गरे । दोस्रो हाफको ४६औँ मिनेटमा जर्सी नम्बर १७ का विप्लव थापाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जर्सी नम्बर १० का कप्तान समिर राईले दोस्रो गोल गरे । खेलको इन्जुरी समयमा जर्सी नम्बर ७ का विकास मगरले तेस्रो गोल गर्दै ३–० को स्पष्ट जित सुनिश्चित गरे ।

खेलको ‘म्यान अफ द म्याच’ नेपाल पुलिस स्कुलका जर्सी नम्बर ७ का विकास मगर घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ र मेडल प्राप्त गरे । उनलाई इलाका प्रहरी कार्यालय धरानका प्रमुख तथा डिएसपी भीषणबाबु राईले पुरस्कार प्रदान गरे ।

यस्तै, सिद्धार्थ सेकेन्डरी स्कुललाई सहभागिताको प्रमाणपत्र विद्यालयकी प्रधानाध्यापक मनिका सुब्बा राईले प्रदान गरिन् । विशेष अतिथि डिएसपी राईलाई विद्यालय समादेशक तथा प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेश कुमार हायूले मायाको चिनो प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल प्रभात सेकेन्डरी बोर्डिङ स्कुल धरान र पिनाकल ज्ञान मन्दिर सुन्दरहरैँचा, मोरङबीच दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।