विराटनगर । बिरामी बोक्ने एम्बुलेन्सलाई लागुऔषध तस्करीको हतियार बनाउने गिरोहलाई मोरङ प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ । आइतबार राति मोरङको केराबारी गाउँपालिका–५, लाफा टोलमा प्रहरीले हवाई फायर गरी ५ सय २१ किलो (५ क्विन्टल बढी) गाँजा बरामद गरेको हो ।
धनकुटाबाट मोरङतर्फ एम्बुलेन्समा गाँजा भित्रिँदैछ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तस्करीमा संलग्नहरूलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी र केराबारीका असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा खटिएको संयुक्त टोलीले प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई रोक्न खोजेको थियो । तर, प्रहरीलाई देख्नासाथ तस्करहरू एम्बुलेन्स छाडेर जङ्गलतर्फ फरार हुन खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो । भाग्न खोज्नेहरूलाई नियन्त्रणमा लिन असई तोलाङ्गीले चिनियाँ पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेका थिए ।
प्रहरीको कडा घेराबन्दी र गोली चलेपछि तस्करहरू आत्मसमर्पण गर्न बाध्य भएका थिए । पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटा सहिदभूमि–६ का ३५ वर्षीय निश्चल राई र साँगुरीगढी–२ का २० वर्षीय खगेन्द्र लिम्बू रहेका छन् ।
बरामद गरिएको गाँजा तौल गर्दा ५ सय २१ किलो फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार एम्बुलेन्सभित्र १६ वटा ठूला पोकामा गाँजा कोचेर राखिएको थियो । छानबिनका क्रममा उक्त एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१, खाल्सा–छिन्ताङस्थित ुसूर्यबहादुर थापा प्रतिष्ठानु को नाममा दर्ता रहेको खुलेको छ । मानवीय सेवाका लागि प्रयोग हुनुपर्ने एम्बुलेन्सको यसरी चरम दुरुपयोग हुनुले सुरक्षा निकायलाई समेत गम्भीर बनाएको छ ।
प्रहरीले बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । यस तस्करीको जालो कहाँसम्म फैलिएको छ भन्नेबारे इन्स्पेक्टर राजीव गिरीको टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।