विराटनगर । उपचारका लागि भोजपुरबाट इटहरी आएकी एक महिलाको आफ्नै ज्वाइँले हत्या गरेका छन् । मोरङको बाहुनी घर भई सुनसरीको इटहरीमा डेरा गरी बस्दै आएका २७ वर्षीय गणेश साह गुप्ताले आफ्नी ५० वर्षीया सासु पबीमाया बयलकोटीको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार भोजपुरको दिङ्ला निवासी पबीमाया एक साताअघि श्रीमानसहित उपचार गराउन इटहरी आएकी थिइन् । उनी इटहरीकै जनता बस्तीमा बस्ने अर्की छोरीको घरमा बसेर उपचार गराइरहेकी थिइन् । सोमबार घर फर्कने तयारीमा रहेकी पबीमाया आइतबार राति अर्की छोरी र ज्वाइँ गणेशको डेरामा पुगेकी थिइन् ।
घर फर्किनु अघिल्लो रात नै ज्वाइँ गणेशले पानी तान्ने ट्युबेलको हेण्डलले टाउकोमा प्रहार गरी सासुको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेकी पबीमायाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा छोरी र ज्वाइँबीच भइरहेको दिनहुँको झगडा मिलाउन र ज्वाइँलाई सम्झाउन खोज्दा आक्रोशित बनेका गणेशले सासुमाथि आक्रमण गरेको खुलेको छ ।सासुको हत्यामा संलग्न गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।