लोड हुँदैछ...

मेनु

गाँजा तस्करी रोक्न प्रहरीले चलायो हवाईफायर, दुई भारतीयसहित ३३० केजी गाँजा बरामद

गाँजा तस्करी रोक्न प्रहरीले चलायो हवाईफायर, दुई भारतीयसहित ३३० केजी गाँजा बरामद

विराटनगर । मोरङमा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरीले मध्यरातमा हवाई फायर गर्नुपरेको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकबाट ३३० केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिबार राति करिब १०ः३० बजेतिर जहदा गाउँपालिका–२ तारिगामा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको निर्देशनमा जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।

टोली घटनास्थलमा पुग्दा टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ लैजाँदै गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीलाई देख्नासाथ कारोबारीहरू गाँजाको बोरा फालेर फरार हुन खोजेपछि नियन्त्रणका लागि प्रहरीले ठूलो चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको थियो । हवाई फायरपछि प्रहरीले भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गर्न सफल भएको छ ।

उनीहरूको साथबाट ३३० केजी गाँजा बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ । एसपी कटवालले गाँजा ओसारपसारकै क्रममा हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकामाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छलेर भारत पुर्‍याउने प्रयास भइरहेका छन् । भारतमा गाँजाको मूल्य दोब्बर पर्ने भएकाले अवैध रूपमा तस्करी हुने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।