विर्तामोड । भिसाको म्याद सकिएपछि नेपालबाट भारततर्फ जान खोज्ने एक जना अमेरिकी नागरिकलाई सशस्त्र प्रहरीले नेपाल–भारत पूर्वी सीमा नाकाबाट नियन्त्रणमा लिएको छ ।
नियमित सीमा सुरक्षा जाँचका क्रममा भद्रपुर नाकामा शंकास्पद यात्रुलाई रोकेर कागजात जाँच गर्दा अमेरिकी नागरिकको नेपाल भ्रमण भिसाको म्याद सकिएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार दिउँसो भद्रपुर नगरपालिका–७ स्थित मेची पुलपारि रहेको सहायता कक्षमा खटिएको ड्युटी टोलीले भारततर्फ पैदलै जान लागेका ३६ वर्षीय अमेरिकी नागरिक मार्क एन्ड्रयु क्युटीलोस्कीलाई रोकेको थियो। भद्रपुर भन्सार नाका हुँदै सीमा पार गर्ने क्रममा पासपोर्ट र भिसा विवरण जाँच गर्दा उनको नेपाल बसाइको वैधानिक अवधि समाप्त भइसकेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ।
क्युटीलोस्कीको साथमा रहेको झोला तथा यात्रा सम्बन्धी कागजातसमेत जाँच गरी आवश्यक प्रक्रिया पूरा गरिएको जनाइएको छ। भिसा अवधि सकिएपछि औपचारिक प्रक्रिया नअपनाई सीमा पार गर्न खोज्नु अध्यागमन कानुन विपरीत हुने भएकाले उनलाई नियन्त्रणमा लिइएको सशस्त्रको भनाइ छ।
नियन्त्रणमा लिएका अमेरिकी नागरिकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन कार्यालय काँकरभिट्टा बुझाइएको छ। अध्यागमन कार्यालयले भिसा उल्लंघनसम्बन्धी प्रावधानअनुसार थप अनुसन्धान गरी आवश्यक निर्णय लिने जनाएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित चेकजाँच कडाइका साथ जारी रहेको र भिसा तथा यात्रा कागजात बिना वा म्याद नाघेको अवस्थामा आवतजावत गर्न खोज्ने जोकोहीलाई नियन्त्रणमा लिइने जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।