विराटनगर । विराटनगरको शहीद रंगशालामा जारी १८ औँ महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन आदर्श माध्यमिक विद्यालय पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ स्वर्ण, ६ रजत र २ कास्य पदकसहित आदर्शले आफ्नो अग्रता बलियो बनाएको हो ।
विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा भइरहेको प्रतियोगितामा एभरेष्ट मावि ५ स्वर्ण, २ रजत र ६ कास्यसहित दोस्रो स्थानमा छ । त्यस्तै, ३ स्वर्ण, २ रजत र १ कास्य जितेको सगरमाथा विद्यालय तेस्रो स्थानमा रहेको छ ।
बिहीबार सम्पन्न विभिन्न प्रतिस्पर्धामा विद्यार्थीहरूले उत्साहजनक प्रदर्शन गरे । छात्रतर्फको ३ हजार मिटर दौडमा सत्यनारायण माविका चन्दन साहले स्वर्ण पदक जिते । सोही विधामा मिल्स माविका चन्दन सहनीले रजत र जनता माविका कृष्ण अधिकारीले कास्य पदक प्राप्त गरे । छात्रातर्फको ३ हजार मिटर दौडमा आदर्श माविकी अर्चना राजवंशीले स्वर्ण, जनताकी बबिता रानाले रजत र सत्यनारायणकी आँचल मण्डलले कास्य पदक हात पारिन् ।
हाइजम्पको छात्रतर्फ पोखरिया माविका हरिबहादुर परियारले स्वर्ण जितेका छन् भने सत्यनारायणका प्रियान्सु साहले रजत र जनताका राहुल यादवले कास्य पदक जिते । सोही विधाको छात्रातर्फ सेन्ट मेरीकी ऊर्जा भट्टराईले स्वर्ण, आदर्शकी अन्जिला भट्टराईले रजत र मदर टेरेसाकी पूजा यादवले कास्य पदक प्राप्त गरिन् ।
त्यस्तै, छात्रातर्फको ८ सय मिटर दौडमा जनता माविकी भूमिका राजवंशीले स्वर्ण पदक जितिन् । आदर्शकी निशा मण्डलले रजत र पोखरियाकी पावैपती कामतले कास्य पदकमा चित्त बुझाइन् ।
पुस ९ गतेदेखि सुरु भएको यो प्रतियोगिता पुस ११ गतेसम्म चल्नेछ । प्रतियोगितामा महानगरभित्रका ६५ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीहरूको सहभागिता रहेको छ । छात्र र छात्रातर्फ गरी कुल १३२ पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आट्र्ससहित ट्रयाक र फिल्डका विभिन्न खेलहरूमा प्रतिस्पर्धा भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।