लोड हुँदैछ...

मेनु

केसेलिया किनारमा फोहर विसर्जन ठप्प, स्थानीयले सुरु गरे आन्दोलन

केसेलिया किनारमा फोहर विसर्जन ठप्प, स्थानीयले सुरु गरे आन्दोलन

विराटनगर । विराटनगर महानगरपालिकाले वातावरणीय मापदण्ड र स्थानीयको स्वास्थ्यलाई बेवास्ता गर्दै केसेलिया खोला किनारमा फोहर फाल्न थालेपछि उत्पन्न विवादले उग्र रूप लिएको छ ।

महानगरले समन्वय नगरी एकलौटी ढंगले वडा नं. १६ मा ‘डम्पिङ साइट’ सुरु गरेपछि स्थानीय बासिन्दाले विसर्जनमा पूर्णतः रोक लगाएका हुन् ।

विगत पाँच दिनदेखि जारी अवरोधका कारण महानगरभित्र दैनिक संकलन हुने करिब १ सय मेट्रिक टन फोहर उठ्न सकेको छैन । जसका कारण बजार क्षेत्रका मुख्य चोक, गल्ली र सडक किनारमा फोहर थुप्रिएर दुर्गन्ध फैलिन थालेको छ ।

महानगरले वडा नं. ६ मा बस्ती बाक्लिएपछि विकल्पका रूपमा केसेलिया खोला किनारको साढे १० बिघा जग्गामा पुस १ गतेदेखि फोहर फाल्न थालेको थियो । तर, विराटनगर–१२, १६ र सुनसरीको बर्जु गाउँपालिकाका बासिन्दाले ‘फोहरको उपहार’ स्वीकार नगर्ने भन्दै पुस ५ गतेदेखि प्रतिरोध सुरु गरेका हुन् । विसर्जन स्थल नजिकै २ सय बिघाभन्दा बढी खेतीयोग्य जमिन रहेकाले कृषि र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने स्थानीयको गुनासो छ ।

स्थानीय संघर्ष समितिका अगुवा खुसीलाल पण्डितले महानगरको अदूरदर्शी निर्णयले बस्ती नै जोखिममा परेको बताए । “महानगरले विकासका नाममा हामीलाई दुर्गन्धको उपहार दियो,” पण्डितले आक्रोश पोखे, “केसेलिया खोलामा आउने बाढीले फोहर बगाएर हाम्रो घरआँगन र खेतबारीमा पुर्‍याउँछ । यस्तो जोखिम सहेर हामी बस्न सक्दैनौं । महानगरको एकलौटी निर्णयविरुद्ध हामी वारपारको लडाइँमा छौं ।”

स्थानीयले मुख्यगरी वर्षायाममा हुने बाढी र त्यसबाट फैलिन सक्ने महामारीप्रति चिन्ता व्यक्त गरेका छन् । वैज्ञानिक व्यवस्थापन ९ल्यान्डफिल साइट० का न्यूनतम मापदण्ड समेत पालना नगरी बगरमा फोहर थुपारिएको र नयाँ ठाउँमा विसर्जन सुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत नगरिएको उनीहरूको दाबी छ ।

महानगरको सरसफाइ महाशाखा प्रमुख पुनम दाहालले भने पुरानो ठाउँमा समस्या भएपछि महानगरको आफ्नै स्वामित्वको जग्गामा व्यवस्थापन गर्न खोजिएको बताए । “अहिले देखिएको अवरोध हटाउन र निकास निकाल्न स्थानीयसँग छलफल गर्ने वातावरण बनाइँदै छ,” उनले भने ।

हाल विराटनगरमा नेपाल फुलबारी, स्वास्थ्यको शान्तिका लागि वातावरण नेपाल र सागरमाथा मल्टी सर्भिसेज प्रालिले फोहर संकलनको जिम्मा पाएका छन् । ५ वर्षको ठेक्का अवधिमध्ये ४ वर्ष १ महिना पूरा गरिसकेका यी संस्थाहरू अहिले डम्पिङ साइटको विवादले गर्दा फोहर उठाउन असमर्थ भएका छन् । महानगरले ठोस र वैज्ञानिक समाधान नखोजेसम्म स्थानीयले अवरोध नहटाउने अडान राखेका छन्, जसले विराटनगरको सरसफाइ व्यवस्थापनलाई थप संकटतर्फ धकेलेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।