विराटनगर । गएराति विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ का २७ वर्षे थापा राति १ बजेतिर दुर्घटनामा परेका थिए ।
विराटनगर–४ स्थित एयरपोर्ट लाइनबाट बरगाछीस्थित गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटना लगतै उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
थापा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेल्दै आएका थिए । ब्याट्सम्यान रहेका उनले केही फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाइसकेको परिवारले बताएको छ।
राष्ट्रिय खेलाडीको असामयिक निधनले परिवार, आफन्त तथा क्रिकेट समर्थकहरू शोकमा छन्। परिवारका अनुसार थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता छन्। उनी आमा तनुजा थापा र भाइ प्रदीप थापासँगै बस्दै आएका थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।