विराटनगर । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ बुधबारदेखि भव्य रूपमा सुरु भएको छ ।
विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा विराटनगरस्थित शहीद रंगशालामा प्रतियोगिताको शुभारम्भ गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले रनिङ शिल्डमा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूको आकर्षण बढ्नु खेलकुद क्षेत्रका लागि सुखद पक्ष भएको बताए । उनले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘खेलकुदले विद्यार्थीहरूमा अनुशासन र प्रतिस्पर्धाप्रति सकारात्मक धारणा विकास गर्छ,’ प्रमुख कोइरालाले भने । उनले प्रतियोगिताको संयोजन गरेकोमा एभरेष्ट माध्यमिक विद्यालयलाई धन्यवाद समेत दिए ।
कार्यक्रममा एभरेष्ट माविका प्राचार्य टीकाराम पुरीले राष्ट्रपति रनिङ शिल्ड विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उत्कृष्ट थलोका रूपमा विकसित भएको धारणा राखे । २१ औँ शताब्दीको शिक्षामा सीप, प्रविधि र संस्कारलाई जोड्न खेलकुदको ठूलो भूमिका रहने उल्लेख गर्दै उनले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताए । उनले महानगरका विद्यालयहरूले एभरेष्टप्रति विश्वास गर्दै संयोजनको जिम्मेवारी सुम्पिएकोमा आभार व्यक्त गरे ।

प्रतियोगिताको पहिलो दिन सहभागी विद्यालयहरूले मार्चपास प्रदर्शन गरेका थिए । मार्चपासमा आदर्श माध्यमिक विद्यालय प्रथम हुन सफल भयो । त्यस्तै, पूर्वाञ्चल विद्या सदन माध्यमिक विद्यालय दोस्रो र पोखरिया माध्यमिक विद्यालय तेस्रो भए । मार्चपासमा उत्कृष्ट हुने विद्यालयहरूलाई प्रमाणपत्रसहित क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
१३२ पदकका लागि प्रतिस्पर्धा
पुस ११ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा विराटनगर महानगरपालिकाका ६१ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा छात्रतर्फ ६६ र छात्रातर्फ ६६ गरी जम्मा १३२ वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट तथा ट्रयाक र फिल्डका विभिन्न खेलहरू समावेश छन् । खेलहरू शहीद रंगशाला, रंगशालाको कभर्डहल र फ्युजन तेक्वान्दो तालिम केन्द्रमा सञ्चालन हुने आयोजकले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।