लोड हुँदैछ...

मेनु

इलामको पुनःनिर्माणमा संघीय सरकारले २ अर्ब १९ करोड पठाउने

इलामको पुनःनिर्माणमा संघीय सरकारले २ अर्ब १९ करोड पठाउने

विराटनगर । गत असोज १८ गतेको विनाशकारी बाढीपछि ‘विपत् सङ्कटग्रस्त क्षेत्र’ घोषित इलामका सडक तथा पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारले २ अर्ब १९ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको छ ।

संघीस्य सरकारले संकटग्रस्त घोषणा गरेपनि त्यस अनुसार बजेट नपठाएको भन्दै इलाममा आन्दोलन सुरु भएको बेला सो रकम पठाउने सहमति अर्थ मन्त्रालयले दिएको हो ।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार बाढी र पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनःनिर्माणको लागि सो रकम सुनिश्चित भएको हो । बाढीबाट इलाममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारी अनुमान छ । प्रारम्भिक चरणमा सामान्य मर्मतका लागि पालिकाहरूमा ५ करोड ३३ लाख रुपैयाँ मात्र उपलब्ध भएपछि पुनर्निर्माण प्रक्रिया अघि बढेको थिएन ।

अहिले अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले मेची राजमार्गका लागि डेढ अर्ब रुपैयाँ बराबरको बजेटमा सहमति दिएको छ । त्यस अन्तर्गत राज–दुवाली पुल निर्माणका लागि २० करोड, केचना–कञ्चनजङ्घा सडक मर्मतका लागि १४ करोड र उक्त खोलामा भासिएको अर्को पुल मर्मतका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी पुवा खोलाको पुल तथा जोगमाई खोलामा आवश्यक पुनर्निर्माण र संरचना उन्नतिका लागि करिब ५ करोड ५० लाख रुपैयाँ सुनिश्चित गरिएको छ। गत वर्ष मात्रै निर्माण गरिएका दुई बेलीब्रिज बाढीले बगाएपछि यातायात सञ्चालनमा समस्या आएको थियो । अब ती दुवै बेलीब्रिजसँगै मेची कोरिडोरअन्तर्गत पुवा खोलामा, सिमलगोलाई माईबेनी हुँदै तिल्केनी जोड्ने मार्गस्थित जोगमाई खोलामा नयाँ बेलीब्रिज निर्माण कार्य सुरु गरिने भएको छ।

असोजको बाढीले भासिएको बेलासेस्थित माई खोलाको पुल पनि उठाइने छ। अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रकम स्वीकृतिका लागि सहमति दिएसँगै पूर्वघोषित विरोध र दबाब कार्यक्रमहरू स्थगित भएका छन्।

सडक डिभिजन कार्यालय इलाममार्फत चालु आर्थिक वर्षका ठेक्का प्रक्रिया र बहुवर्षीय ठेक्का एकैसाथ अघि बढाइने सडक डिभिजन कार्यालय इलामका प्रमुख भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।