लोड हुँदैछ...

मेनु

खोटाङमा विकासको लहर : भौतिक पूर्वाधार कार्यालयद्वारा ११२ आयोजनाको ठेक्का आह्वान

खोटाङमा विकासको लहर : भौतिक पूर्वाधार कार्यालयद्वारा ११२ आयोजनाको ठेक्का आह्वान

खोटाङ । खोटाङस्थित भौतिक पूर्वाधार विकास कार्यालयले जिल्लामा सञ्चालन हुने विभिन्न ११२ वटा विकास आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२र८३ का लागि स्वीकृत भएका कुल १२३ आयोजनामध्ये ११२ वटाको ठेक्का प्रक्रिया अगाडि बढाइएको हो ।

कार्यालयका अनुसार स्वीकृत भएका ६६ करोड बराबरका आयोजनामध्ये अधिकांशको ठेक्का आह्वान भई निर्माण कम्पनीहरूसँग सम्झौताको प्रक्रियासमेत सुरु भइसकेको छ । भौतिक पूर्वाधार कार्यालयका प्रमुख विनम दाहालले केही आयोजनामा जग्गाको स्वामित्व र स्थानीय विवादका कारण ठेक्का आह्वान गर्न बाँकी रहेको जानकारी दिए । उनले भने, ‘विवाद रहेका आयोजनाहरूको पनि चाँडै समाधान खोजेर ठेक्का प्रक्रिया अगाडि बढाउँछौँ ।’

दश स्थानीय तह रहेको खोटाङमा आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारबाट कुल १६४ वटा आयोजना स्वीकृत भएका छन्, जसको कुल बजेट एक अर्ब रुपैयाँभन्दा बढी रहेको छ । यी आयोजनाअन्तर्गत जिल्लामा सडक कालोपत्र, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की पुल, झोलुङ्गे पुल, आवास, कार्यालय तथा विद्यालय भवन निर्माण लगायतका कामहरू हुनेछन् ।
कार्यालयका अनुसार चालु अवस्थामा रहेका १० वटा बहुवर्षीय आयोजनाका अतिरिक्त थप २४ वटा बहुवर्षीय आयोजनाका लागि प्रस्ताव पेस गर्ने प्रक्रियामा रहेका छन् । कतिपय आयोजनामा निर्माण व्यवसायीसँग सम्झौता भई कामसमेत सुरु भइसकेको प्रमुख दाहालले बताए ।

विगतका वर्षहरूमा ठेक्का प्रक्रियामा हुने ढिलाइले विकास निर्माण सुस्त हुने गरेकोमा यसपटक कात्तिक २ गतेदेखि नै ठेक्का आह्वान भएपछि निर्माण व्यवसायीहरू खुसी भएका छन् । समयमै ठेक्का लाग्दा काम गुणस्तरीय हुने र निर्धारित समयमै सम्पन्न हुने विश्वास गरिएको छ । अहिले पूर्वाधार कार्यालयमा निर्माण कम्पनीहरूको सम्झौता गर्ने भिड लागेको छ ।

खोटाङ क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा वर्तमान भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको विशेष पहलमा जिल्लाले अहिलेसम्मकै ठूलो बजेट र धेरै आयोजना पाएको दाबी गरिएको छ । मन्त्री राईले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका बेला जिल्लाका सबै स्थानीय तहलाई समेटेर बजेट विनियोजन गरेपछि खोटाङवासीले उनलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमार्फत स्थानीयले खुसी व्यक्त गर्दै यी आयोजनाहरूलाई पारदर्शी र गुणस्तरीय ढंगले कार्यान्वयन गर्न मन्त्रालय र मन्त्री राईलाई सुझावसमेत दिइरहेका छन् ।

यस वर्ष विनियोजित बजेटमध्ये सबैभन्दा ठूलो आयोजनाका रूपमा रसुवाघाट–पाँचधारे सडक निर्माण परेको छ, जसका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका कुनाकाप्चासम्म विकास पुर्‍याउने लक्ष्यका साथ सरकारले काम अगाडि बढाएको मन्त्री राईको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।