लोड हुँदैछ...

मेनु

विराटनगरका दुई क्यासिनोमा प्रहरीको ‘मिडनाइट’ छापा : बस्नेत र गौतमसहित २० नेपाली पक्राउ

विराटनगरका दुई क्यासिनोमा प्रहरीको ‘मिडनाइट’ छापा :  बस्नेत र गौतमसहित २० नेपाली पक्राउ

विराटनगर । विराटनगरका दुई वटा क्यासिनोमा प्रहरीले आइतबार मध्यरातमा छापा मारी महाप्रबन्धक र व्यवस्थापक सहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ। नेपालीका लागि वर्जित मानिएको क्यासिनोमा लुकिछिपी नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उक्त कारबाही गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्रको गोल्डेन क्यासिनोमा प्रहरीले एकैसाथ छापा मारेको थियो।

राति ११ बजे गरिएको उक्त कारबाहीका क्रममा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक  रामकृष्ण गौतम पक्राउ परेका छन्। प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी २० जना नेपालीलाई रंगेहात नियन्त्रणमा लिएको छ।

नेपाली नागरिकलाई क्यासिनो छिर्न प्रतिबन्ध भए तापनि सञ्चालकहरूले कानुनको धज्जी उडाउँदै उनीहरूलाई जुवा खेलाउने गरेको पाइएको छ। पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा हिरासतमा राखिएको छ। प्रवेश निषेध रहेको क्यासिनोमा नेपाली छिरेर निर्वाध रूपमा जुवाजन्य खेल खेल्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा हानेको जानकारी एसपी कटवालले दिए ।

‘प्रहरीले छापा हान्दा क्यासिनोमा नेपालीहरु निर्वाध रूपमा खेलिरहेको पाइयो । त्यही भएर व्यवस्थापकसहित त्यहाँभित्र रहेका सबै नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको छ,’ उनले भने । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले पक्राउ परेकाहरू विरुद्ध आजै जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको एसपी कटुवालले जानकारी दिए। विराटनगरमा २ वटा क्यासिनो सञ्चालित छन् । कानुनले क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरेको छ । तर, दुवै क्यासिनोमा कानुनविपरीत निर्वाधरूपमा प्रवेश गरेर नेपालीले जुवा खेल्दै लाखौं रूपैयाँ सकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।