लोड हुँदैछ...

मेनु

बालिकामाथि मात्र हैन, बालकमाथि पनि यौन हिंसा बढेको तथ्यांक

बालिकामाथि मात्र हैन, बालकमाथि पनि यौन हिंसा बढेको तथ्यांक

विराटनगर । बालकविरुद्धको हिंसा, विशेषगरी यौन हिंसाका घटना बढ्दो क्रममा रहेपनि उजुरी भने अत्यन्त न्यून मात्रामा पर्ने गरेको सरोकारवालाले बताएका छन् ।

विराटनगरमा आइतबार आयोजित कोशी प्रदेशस्तरीय छलफल कार्यक्रममा प्रस्तुत तथ्याङ्क र अध्ययनले बालकहरू पनि यौन हिंसाका गम्भीर पीडित बन्ने गरेको देखाएको छ ।

राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र कोशी प्रदेशले भ्वाइस अफ चिल्ड्रेनसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सहभागीले यस्तो जानकारी दिएका हुन् । ‘बालकहरूमाथि हुने यौन हिंसा, विद्यमान कानुनी प्रावधान र रोकथाम’ विषयक कार्यक्रममा विश्वव्यापी र राष्ट्रिय अवस्था प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संस्थाका कार्यक्रम म्यानेजर कृति भट्टराईले विश्वमा हरेक सात बालकमध्ये एक बालक १८ वर्ष नपुग्दै यौन हिंसाबाट प्रभावित हुने गरेको अध्ययनले देखाएको बताइन् । नेपालमा पनि बालकविरुद्धको हिंसा बढ्दो भए पनि उजुरी न्यून रहने प्रवृत्ति गम्भीर समस्या बनेको उनको भनाइ थियो ।

नेपाल प्रहरीको साइबर ब्युरोको प्रतिवेदनअनुसार साइबर अपराधबाट देशभर ३५१ बालक र ४२१ बालिका गरी ७७२ जना पीडित भएका छन् । तीमध्ये कोशी प्रदेशमा मात्रै ८ बालक र १८ बालिका गरी २६ जना पीडित भएको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरियो । यस्तै, गत आर्थिक वर्षमा कोशी प्रदेशमा अप्राकृतिक मैथुनका ४, बाल यौन दुरुपयोगका १०२, बालविवाहका ८ र बालबालिकाविरुद्धका अन्य कसुर गरी जम्मा ११९ वटा घटना दर्ता भएका छन् ।

सरकारी तथ्याङ्कअनुसार बालबालिकामाथि हुने यौन दुव्र्यवहारका घटनामा कोशी प्रदेश पहिलो स्थानमा रहेको छ । कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यौन हिंसा महिला र बालिकामाथि मात्रै हुने भन्ने धारणा गलत भएको बताए । तथ्याङ्कले बालकहरू पनि यौन हिंसाका पीडित हुने गरेको स्पष्ट देखाएको भन्दै उनले यस विषयमा सामाजिक सोच परिवर्तन आवश्यक रहेको धारणा राखे ।

प्रदेश प्रहरी कार्यालय धरानका एसएसपी ज्ञानेन्द्र फुयाँलले बालक हिंसाका घटना बढ्दो क्रममा रहेको बताए । अध्ययनका क्रममा मानसिक समस्या भएका व्यक्तिबाट समेत बालकमाथि यौन हिंसा हुने गरेको पाइएको जानकारी दिँदै उनले चालु आर्थिक वर्षको मंसिरसम्म ४१ जना बालबालिका यौन हिंसाबाट पीडित भएको बताए । गत वर्ष यो संख्या करिब १०० रहेको उनको भनाइ थियो ।

भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्ण थापाले २०५२ सालमा बाल यौन दुव्र्यवहारको उजुरी दर्ता गराउँदा दुई जना पीडित बालकसँगै आफू पनि दुई दिन जेल बस्नुपरेको अनुभव सुनाए । उच्च सरकारी वकिल कार्यालय विराटनगरकी सहायक न्यायाधिवक्ता विजया नेपालले बालिकाको तुलनामा बालक पीडित भएको उजुरी अझै कम पर्ने गरेको बताइन् ।

सिभिन विराटनगरका प्रमुख बासु अधिकारीले यौन हिंसामा परेका बालबालिकामा मानसिक समस्या बढी देखिने गरेको जानकारी गराए । गैसस महासंघ मोरङका अध्यक्ष विष्णु शर्माले घरपरिवारभित्रै बालबालिका पीडित हुने घटनाहरू बढिरहेको र बालगृहमा समेत हिंसा हुने गरेको सुनाइन् ।

बालअधिकार परिषद् बालबालिका खोजतलास समन्वय केन्द्र कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले कोशी प्रदेशमा बालबालिका हराउने घटनासमेत बढ्दो रहेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा ८६९ जना बालबालिका हराएकामा ७७७ जना फेला परेका छन् ।

कार्यक्रमका सहभागीहरूले बालकविरुद्ध हुने यौन हिंसालाई सामाजिक लज्जा र मौनताले अझै जटिल बनाइरहेको भन्दै उजुरी प्रणाली सुदृढ गर्न, सचेतना बढाउन र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।