लोड हुँदैछ...

मेनु

बुहारीलाई जागिर नलगाएको भन्दै मेसुलाई वडाध्यक्षको धम्की

बुहारीलाई जागिर नलगाएको भन्दै मेसुलाई वडाध्यक्षको धम्की

इटहरी । बुहारीलाई जागिर नलगाइदिएको भन्दै सुनसरीको इनरुवा नगरपालिका–५ का वडाध्यक्ष अनिल पोखरेलले सुनसरी जिल्ला अस्पतालका डाक्टरलाई धम्की दिएका छन् ।

जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.अमिताभ ठाकुरले आफूमाथि धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन् ।

डा.ठाकुरले वडाध्यक्ष पोखरेलबाट पछिल्लो एक महिनायता निरन्तर धम्कीपूर्ण व्यवहार, अनावश्यक दबाब र मानसिक तनाव झेल्नुपरेको उल्लेख गर्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिमा लिखित ज्ञापन पत्र बुझाएका हुन् । सो ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीलाई समेत बोधार्थ दिइएको छ ।

अस्पतालका प्रमुखसमेत रहेका डा.ठाकुरले कानुनको परिधिभित्र रही अस्पताल सञ्चालन गरिरहेको अवस्थामा वडाध्यक्ष पोखरेलबाट पटक–पटक फोनमार्फत दबाब र धम्की आएको बताए । पोखरेलले कार्यालयमै आएर काममा अवरोध पुर्‍याउने गतिविधि पनि गरेको उनको भनाइ छ । यस्ता गतिविधिले आफू असुरक्षित बनेको जनाउँदै आवश्यक कानुनी प्रक्रियामा जाने तयारीसमेत गरेको बताएका छन् ।

वडाध्यक्ष पोखरेलले आफ्नी बुहारी सन्ध्या ढकाल पोखरेललाई अस्पतालमा जागिर लगाइदिन दबाब र धम्की दिएको डा.ठाकुरको भनाइ छ । दिन–रात जस्तोसुकै समयमा फोन गरी मानसिक दबाब दिएको र कार्यालयमै आएर कागजात माग्दै धम्कीपूर्ण व्यवहार गरेको उनले गुनासो गरेका छन् ।
यस विषयमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष, इनरुवा नगरप्रमुखलगायत सम्बन्धित निकायलाई मौखिक तथा लिखित रूपमा जानकारी गराएको उनले बताए ।

वडाध्यक्ष पोखरेलले दुई दिनअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक तथा व्यक्तिगत जीवनमा असर पर्ने खालका टिप्पणी गरेको पनि डा.ठाकुरको भनाइ छ । धम्कीपूर्ण फोन कलको विवरणसहित बुझाइएको ज्ञापन पत्रमा अस्पताल र परिवारप्रति कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी वडाध्यक्ष पोखरेलले लिनुपर्ने उल्लेख गरिएको छ ।

घटनाको छानबिन गरी आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कोशी प्रदेश स्वास्थ्य मन्त्रालय तथा अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको डा. ठाकुरले जानकारी दिए । वडाध्यक्ष पोखरेलले भने आफू जनप्रतिनिधि भएको नाताले अस्पतालको कामकारबाहीप्रति चासो राख्नु स्वाभाविक भएको जिकिर गर्दै बुहारीलाई जागिर लगाउने विषयमा ठाउँ खाली भएमा राखिदिन आग्रह मात्र गरिएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।