इनरुवा । सुनसरीमा बितेको एक वर्षमा २१ जना बालिका बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अभिलेखीकरण अनुसार २०८१ पुस १७ देखि २०८२ मङ्सिर २९ गतेसम्मको अवधिमा ती बालिकाहरू बलात्कृत भएको पाइएको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक, २०२६ को पूर्ववार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि जयकृष्ण यादवले सो जानकारी दिएका हुन् । उनले प्रस्तुत गरेको विवरण अनुसार महिला बलात्कारका घटना १० वटा, जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु र १२ जना प्रहरी घाइते भएका छन् । यस्तै, हाडनाता करणी तथा बाल यौन दुर्व्यवहार सात, बलात्कार उद्योग १५, पत्रकारमाथि कुटपिट चार र कर्मचारीमाथि कुटपिटका दुई घटना भएका छन् ।
कार्यक्रममा अधिवक्ता सुकदेव चौधरी र पत्रकार अजित झाले नागरिकको अधिकारका सवाल अझ प्रभावकारी रूपमा उठाउनुपर्ने सुझाव दिए । यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पराजुलीले राज्य मानव अधिकारको संरक्षक रहेको बताए । जेनजी आन्दोलनका बेला प्रहरीले थप क्षति हुन नदिन ुब्याकु मात्र भएको उनले स्पष्ट पारे । पत्रकार सुरज यादवले भने जनप्रतिनिधिबाट प्रेस स्वतन्त्रता हनन भएको गुनासो गरे ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।