विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय २ पांग्रे सवारीसाधन दुर्घटनाको संख्या उल्लेख्य रूपमा बढ्दै जाँदा सडक सुरक्षा गम्भीर चुनौती बनेको छ ।
दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरीले प्रदेशभर नयाँ शैलीको विशेष सचेतनामूलक अभियान सुरु गरेको छ ।
‘२ पांग्रेका चालकसँग २ मिनेट’ नाम दिइएको यो अभियान कोशी प्रदेशका १४ वटै जिल्लामा सञ्चालनमा छ । अभियानअन्तर्गत ट्राफिक प्रहरीले सडकमा गुडिरहेका मोटरसाइकल र स्कुटर चालकलाई रोक्दै दुई मिनेट समय लिएर ट्राफिक नियम, सडक अनुशासन र सुरक्षित यात्राका विषयमा प्रत्यक्ष जानकारी दिँदै आएको छ ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरी स्वयं फिल्डमा खटिएर चालकलाई सचेत गराइरहेका छन् । बढ्दो २ पांग्रे दुर्घटनालाई नियन्त्रण गर्ने व्यवहारिक र प्रभावकारी प्रयासका रूपमा अभियानलाई अघि बढाइएको प्रहरीले जनाएको छ ।
जाडो मौसम सुरु भएसँगै हुस्सु, चिसो र दृश्यता कमजोर हुने अवस्थाले दुर्घटनाको जोखिम झन् बढ्ने भएकाले चालकलाई प्रत्यक्ष सचेत गराउन आवश्यक देखिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले बताए । उनका अनुसार अभियानका क्रममा हेल्मेट अनिवार्य प्रयोग, फिता मजबुतसँग बाँध्ने, तीव्र गति नगर्ने, लेन अनुशासन पालना, जथाभावी ओभरटेक नगर्ने, पार्किङ निषेधको पालना, सवारी साधनको यान्त्रिक अवस्था जाँच, मोबाइल प्रयोग नगरी सवारी चलाउने, मापसे र लापसे गरेर सवारी नचलाउनेजस्ता आधारभूत तर महत्वपूर्ण विषयमा चालकलाई सम्झाइन्छ ।
ट्राफिक नियम उल्लंघन गरे प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट सन्देश पनि चालकलाई दिने गरिएको छ । दुर्घटना न्यूनीकरण कारबाहीबाट मात्र सम्भव नहुने भन्दै चालक, सहचालक, पैदलयात्रीसहित सबै सडक प्रयोगकर्ता सचेत र जिम्मेवार हुनुपर्नेमा ट्राफिक प्रहरीको जोड छ ।
ट्राफिक प्रहरीले सूचना, शिक्षा र प्रविधिको संयोजनमार्फत सडक सुरक्षा प्रवर्द्धन गर्ने नीतिअनुसार यो अभियान सुरु गरेको जनाएको छ । विद्यालय तहदेखि नै ट्राफिक सचेतना दिन सके दीर्घकालीन रूपमा दुर्घटना घटाउन सकिने निष्कर्षसहित प्रदेशस्तरीय योजना बनाइँदै छ ।
ट्राफिक प्रहरीका अनुसार २ पांग्रे चालकमा हेल्मेट नलगाउने, फिता नबाँध्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक संकेतको अवज्ञा गर्ने, अनधिकृत पार्किङ गर्ने, लाइसेन्स बिना सवारी चलाउने र मोबाइलमा कुरा गर्दै सवारी हाँक्ने प्रवृत्ति अझै व्यापक छ । यही लापरबाही अधिकांश दुर्घटनाको मुख्य कारण बनेको देखिएको छ ।
कारबाहीलाई प्रभावकारी र पारदर्शी बनाउन राडरगन, ब्रेथलाइजर र लापसे परीक्षणका विशेष कीट प्रयोगमा ल्याइए पनि चालकको व्यवहारमा सुधार नआएसम्म दुर्घटनामा उल्लेख्य कमी ल्याउन कठिन रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ ।
नेट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार मंसिर महिनामा मात्रै कोशी प्रदेशमा ८६२ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने ९७९ जना घाइते भएका छन् ।
दुर्घटनामा परेका सवारीमध्ये सबैभन्दा धेरै २ पांग्रे सवारीसाधन छन् । मंसिरमा ४८१ वटा मोटरसाइकल र स्कुटर दुर्घटनामा पर्दा १९ जनाको मृत्यु भएको छ भने ६०५ जना घाइते भएका छन् । समग्र दुर्घटनामध्ये २ पांग्रेको हिस्सा ५६ प्रतिशत रहेको तथ्यांकले देखाउँछ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।