विराटनगर । मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या घटनामा संलग्न दोषी पक्राउ गर्न सफल भएकोमा लेटाङ नगरपालिकाले जिल्ला प्रहरी कार्यालय मोरङलाई सम्मान गरेको छ।
नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेर गम्भीर र संवेदनशील प्रकृतिका घटनामा प्रहरीले देखाएको पेसागत क्षमता, धैर्यता र मिहिन अनुसन्धानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको हो।
लेटाङ नगरपालिकाका मेयर भूपेन्द्रकुमार लावती, उपमेयर कृष्णकुमारी निरौला र प्रमुख प्रशासकीय अधिकृत शशि राईले मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहित इन्स्पेक्टर सरोज खनाल, इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साह र इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीलाई सम्मान गरेका थिए। सत्य–तथ्य बाहिर ल्याएर अंशु गौतमको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीले निभाएको भूमिकालाई सम्मान गरेको मेयर लावतीले बताए ।
‘अपराधी पक्राउ नपरे पीडित परिवारले न्याय पाउँदैनन र समाजमा अपराधीको मनोबल बढ्ने खतरा हुन्छ’ उनले भने, ‘कठिन परिस्थितिमा पनि सफल अनुसन्धान गर्न प्रहरीले महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद ।’ उपप्रमुख कृष्णकुमारी निरौलाले पनि अंशु गौतमको हत्यामा संलग्न पक्राउ गरेर मोरङ प्रहरीले न्यायको बाटो खोल्न कठिन अवस्थामा सफलता हासिल गरेको भन्दै आभार प्रकट गरिन् ।
अंशुका बुवा राजन गौतमले पनि घटनामा संलग्न अभियुक्त पक्राउ गरेकोमा प्रहरीलाई धन्यवाद दिंदै अनुसन्धानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । एसपी कटवालले प्रहरी प्रधान कार्यालयको गम्भीर चासो भएको र सीआईबीको टोलीले मिहिन ढंगले अनुसन्धान गरेर हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको जानकारी दिए।
गत असोज २१ गते लेटाङ–२ फडानीस्थित घरबाट हराएकी अंशुको शव कार्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा फेला परेको थियो । शरीर र टाउको अलग, कुहिएको र दुर्गन्धित अवस्थामा भेटिएको शव चप्पल र कपडाको आधारमा अभिभावकले सनाखत गरेका थिए।
अनुसन्धानका क्रममा प्रहरीले करिब ३ सय स्थानीयसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परीक्षण गरेको थियो। अन्ततः हत्यामा संलग्न ५९ वर्षीय पदमबहादुर अधिकारी मंसिर १८ गते पक्राउ परे । अंशु हराएपछि र उनको शव भेटिएपछि पनि घरमै रहेका उनी एक्कासी भारत भागेपछि उनीमाथि अनुसन्धान गरेको प्रहरीले उनले नै हत्या गरेको पुष्टि गरेको छ ।
कञ्चनपुरकी निर्मला पन्त प्रकरणझैँ निष्कर्षमा पुग्ने आशंका नभएको अवस्थामा दुई महिनाभित्रै हत्यामा संलग्न पक्राउ गर्नु महत्वपूर्ण सफलता मानिँदै लेटाङ नगरपालिकाले सार्वजनिक रूपमा प्रहरीलाई सम्मान गरेको हो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।