विराटनगर । गएको भदौ २३ र २४ गतेको भएको जेन–जी आन्दोलनका क्रममा भएको मानवीय क्षति र भौतिक क्षतिको विषयबारे छानविन गर्न गठित आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिने भएको छ ।
जाँचबुझ आयोगको म्याद सकिन लागेको अवस्थामा आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर म्याद थपका लागि आग्रह गरेको छ । त्यसक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिन लागिएको बताएका हुन् ।
आयोगले सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धानका प्रमुखहरुसँग बयान लिइसकेको छ । अब त्यसबेला सत्तामा रहेका राजनीतिक दलका नेताहरूसँग बयान लिने तयारी गरेको आयोग अध्यक्ष कार्कीले बताए ।
हालसम्म आयोगले गरेका कामबारे ब्रिफिङका क्रममा कार्कीले प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको बताए । अब राजनीतिक तहका उच्च नेताहरूको बयान लिएर प्रतिवेदन लेखनमा केन्द्रित हुने उनले बताए ।
आगामी आइतबारदेखि राजनीतिक नेतालाई बयानका लागि बोलाउने तयारी भएको उनले जानकारी दिए । ओली र लेखकसहितको बयान सक्दा आयोगको समयावधि सकिने भएकाले प्रतिवेदन लेखनलाई समय चाहिने कार्कीले बताए । जेन–जीसँगको सम्झौताअनुसारको क्षेत्राधिकारबारे थप काम गर्नुपर्ने भएकाले म्याद थप गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।