लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशन : ओली क्याम्प छोडेर बागी उम्मेद्वार बन्ने कोशीका प्रदेश मन्त्रीदेखि सांसदसम्म

एमाले महाधिवेशन : ओली क्याम्प छोडेर बागी उम्मेद्वार बन्ने कोशीका प्रदेश मन्त्रीदेखि सांसदसम्म

विराटनगर । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली समूहमा असन्तुष्टि चुलिँदा कोशी प्रदेशका मन्त्रीदेखि सांसदसम्मले केन्द्रीय सदस्यमा बागी उम्मेद्वारी दिएका छन् ।

ओली पक्षले सार्वजनिक गरेको आधिकारिक सूचीमा नाम नभएका आधा दर्जन बढीले बागी उम्मेद्वारी दिएका हुन् । ओली पक्षले केन्द्रीय सदस्यको सूचीमा राखेका संखुवासभाका राजेन्द्र गौतमले उपमहासचिव र झापाका अग्नि खरेलले सचिवमा उम्मेद्वारी दिएका छन् । जसमध्ये गौतमले भने उम्मेद्वारको अन्तिम नामावली प्रकाशित पछि आफू केन्द्रीय सदस्यको मात्रै उम्मेद्वार भएको बताएका छन् ।

ओली पक्षमै रहेका मोरङका लालबाबु पण्डितले पनि सचिवमा उम्मेद्वारी दिएका छन् । यस्तै ओली पक्षको केन्द्रीय सदस्यको सूचीमा रहेका सुनसरीका भीम प्रसाद आचार्यले पनि उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । ओली पक्षको सूचीमा नरहेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले खुला तर्फको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका छन् । यसैगरी ओली पक्षकै नेता एवम कोशी प्रदेशसभाका प्रमुख सचेतक संखुवासभाका विदुर लिङ्थेपले पनि खुला तर्फको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । उनको पनि नाम ओली पक्षका उम्मेद्वारको सूचीमा छैन ।

यसैगरी ओली पक्षकै नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री एवम् सांसद सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका पर्शुराम बस्नेतले खुला केन्द्रीय सदस्यमा बागी उम्मेद्वारी दिएका छन् । प्रदेश सांसद रहेकी सुनसरीकी निरादेवी खनाल आचार्यले महिलातर्फ भुगोलको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी छिन् । उनी एमाले नेता भीम आचार्यकी पत्नी हुन् । उनको नाम ओली पक्षको सूचीमा छैन । यस्तै इलामका सुहाङ नेम्वाङ, पाँचथरका आइन्द्र सुन्दर नेम्वाङ, ओखलढुंगाका किशोरकुमार अधिकारी र सुनसरीकी लक्ष्मी गौतमले पनि बागी उम्मेद्वारी दिएका छन् । नेम्वाङ, अधिकारी र गौतम यसअघि केन्द्रीय सदस्य रहेपनि ओली पक्षले आफ्नो सूचीमा राखेनन् । ओली पक्षमा रहेर यसअघि केन्द्रीय सदस्य रहेका ताप्लेजुङका टंग आङ्बुहाङले भने सूचीमा नाम नपरेपछि उम्मेद्वारी नै दिएनन् । उनी नेकपा विभाजन हुँदा रामबहादुर थापा बादलसँगै एमालेमै रहेका थिए । उनी पूर्व माओवादी हुन् ।

एमाले अधिवेशनको अन्तिम उम्मेद्वारको नामावली प्रकाशित भइसकेपनि समूहगत अन्तिम सूची भने आइसकेको छैन । बागी उम्मेद्वारी दिएका कतिपय व्यक्तिको नाम आधिकारिक सूचीमा पर्न सक्ने सम्भावना रहेको नेताहरु बताउँछन् । निर्वाचन भने आज बिहानबाटै हुने बताइए पनि प्राविधिक कारणले अपरान्हबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds