लोड हुँदैछ...

मेनु

ओली समूहमा विद्रोह, पुराना विश्वासपात्र नै विपक्षमा, ज्ञवालीको आँसु र असन्तुष्टि

ओली समूहमा विद्रोह, पुराना विश्वासपात्र नै विपक्षमा, ज्ञवालीको आँसु र असन्तुष्टि

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाए पनि आकांक्षीहरूको व्यवस्थापन हुन नसक्दा उनी निकट मानिने नेताहरूले नै विद्रोह गरेका छन्।

आकांक्षी व्यवस्थापन गर्नकै लागि आइतबारको केन्द्रीय कमिटी बैठकबाट ओलीले पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय कायम गराएका थिए। तर, ओलीले सोमबार बिहान आफ्नो आधिकारिक प्यानल घोषणा गर्दा नाम नअटाएपछि उनका पुराना विश्वासपात्रहरूले नै इतर पक्ष (वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह) र स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराएका छन्।

‘ओलीका पेले’ नै विपक्षमा

पार्टीभित्र र बाहिर ओलीको कडा आलोचना हुँदा ‘केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेले हो’ भन्दै बचाउ गर्ने नेता कृष्णगोपाल श्रेष्ठले नै ओलीको साथ छाडेका छन्। २०७८ सालमा शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको बचाउमा दिएको भाषणका कारण चर्चा र विवादमा आएका श्रेष्ठले ओली समूहमा स्थान नपाएपछि ईश्वर पोखरेल समूहबाट ‘सचिव’ पदमा उम्मेदवारी दिएका हुन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिने श्रेष्ठलाई एमाले सदस्यता नदिएर ओलीले ‘अपराध गरेको’ भन्दै उनी रुष्ट बनेको निकटस्थहरूले बताएका छन्।

त्यस्तै, ओलीले नै शिक्षामन्त्री बनाएका र उपाध्यक्षका आकांक्षी रघुजी पन्तले पनि ओलीको टिममा नपरेपछि ईश्वर पोखरेल समूहबाटै उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। ओलीका अर्का विश्वासपात्र तथा पूर्व प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि ओलीको टिममा नअटाएपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले पनि सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

ज्ञवालीको आँसु र असन्तुष्टि

महासचिव पदका बलिया दाबेदार उपमहासचिव प्रदीप ज्ञवालीले ओलीको प्यानलबाट उपाध्यक्ष बन्न अस्वीकार गरेका छन्। ओलीले शंकर पोखरेललाई नै महासचिवमा दोहोर्‍याउने निर्णय गरेपछि ज्ञवाली रुष्ट बनेका हुन्।

विष्णु पौडेलले उनलाई उपाध्यक्षमा मनाउने प्रयास गरे पनि ज्ञवालीले ‘महासचिव बाहेक अन्य पदमा इच्छा नरहेको’ अडान लिए। ‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति उचित भएन’ भन्दै मन दुखाएर उनी उम्मेदवारी दर्ता स्थलबाट रुँदै बाहिरिएका थिए। अन्ततः उनले पदाधिकारी पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका छन्।

ओलीले राखेको उपाध्यक्ष पद छाडेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि उनले भृकुटीमण्डमा आँसु छछल्काए । त्यहाँ पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले एमालेको पदाधिकारीबाट अब कार्यकर्तामा झारेको भावुक टिप्पणी गरे।

भावुक देखिएका उनका आँखामा आँसु पनि देखिए । ज्ञवालीले पार्टी राजनीतिमा जहिले पनि संकटको बेला नेतृत्वलाई साथ दिएको बताउँदै अब पदाधिकारीबाट सामान्य सदस्यमा झरेको निष्कर्ष सुनाए ।

‘एउटै व्यक्तिलाई दोहोर्याई राख्ने प्रवृत्ति ठिक भएन । मेरो मन एकदमै दुखेको छ। म पार्टी आन्दोलनका हरेक मोर्चामा सधैँ अगाडि उभिएको छु’, ज्ञावलीले भने, ‘म अहिलेलाई केन्द्रीय सदस्यको मात्रै दाबेदार हुँ। पार्टी आन्दोलनका सबैजसो घटनाक्रममा उभिएको छु । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने र समान अवसर मिल्नछ भन्ने लागेको थियो, तर त्यस्तो भएन ।’

भट्टको हेरफेर र ओलीको प्यानल

ओलीले घोषणा गरेको सुरुवाती सूचीमा पूर्वमाओवादी पृष्ठभूमि रहेका लेखराज भट्टलाई सचिवमा राखिएको थियो। तर, भट्टले सचिवमा उम्मेदवार नबन्ने घोषणा गरेपछि उनलाई उपमहासचिवमा उकासिएको छ। यसका लागि यसअघि उपमहासचिवको सूचीमा रहेका भानुभक्त ढकाललाई सचिवमा सारिएको छ।

ओलीले घोषणा गरेको अन्तिम टिममा उपाध्यक्षतर्फ विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली (अस्वीकार) को नाम थियो। महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट समेटिएका छन्। सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट (परिवर्तन भई उपमहासचिव), र भानुभक्त ढकाल लगायतका नामहरू थिए।

महासचिव र अध्यक्षमा रोचक भिडन्त

महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै महासचिवमा ओली पक्षका शंकर पोखरेल र अर्का नेता सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगले सोमबार साँझ उम्मेदवारी दर्ताको समय सकिएको जनाएको छ। आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली सोमबार राति साढे ८ बजे सार्वजनिक गरिनेछ। मतदानको समयमा पनि संशोधन गरिएको छ। यसअघि मंगलबार बिहान ११ बजेदेखि हुने भनिएको मतदान अब मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds