विराटनगर । नेकपा एमालेका नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यले पार्टीको जारी महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेस गरेको १९ पदाधिकारीको सर्वसम्मत सूचीमा नअटाएका आचार्यले विद्रोही उम्मेदवारी दिएका हुन् ।
अध्यक्ष ओलीले तयार पारेको सूचीमा आचार्यलाई ‘केन्द्रीय सदस्य’ का रूपमा मात्र समेटिएको थियो । तर, नवौँ महाधिवेशनबाटै सचिव निर्वाचित भइसकेका आचार्यले आफ्नो घटुवा स्वीकार्य नहुने भन्दै उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आचार्यले पार्टीमा कामको सही मूल्यांकन हुनुपर्ने बताए । उनले भने, ‘पार्टीमा कामको मूल्यांकन हुनुपर्छ । तसर्थ कामको मूल्यांकन र न्याय स्थापित गर्न उपाध्यक्षमा मलाई आफ्नो अमूल्य मत दिनुहोला ।’ उनले आफूले कुनै प्यानलबाट नभई स्वतन्त्र रूपमा उम्मेदवारी दिएको स्पष्ट पारेका छन् ।
पार्टी राजनीतिमा पदाधिकारीको दाबी गरिरहेका आचार्य यतिबेला कानुनी झमेलामा समेत छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भएको अनियमितता प्रकरणमा मुछिएपछि उनीविरुद्ध केही दिनअघि मात्र विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दर्ता भएको दबाबका बिच पनि आचार्यले पार्टीको माथिल्लो पदमा दाबी पेस गरेर नेतृत्वलाई चुनौती दिएका छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।