काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा आज (बिहीबार) उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, रवि र छविको मुद्दा आजको पेसी सूचीमा चढाइएको छ। यसअघि लामिछाने पक्षका कानुन व्यवसायीहरूको निवेदनका कारण दुई पटकसम्म सुनुवाइ स्थगित भएको थियो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछाने र जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेश खारेजी र धरौटीमा रिहाइको माग गर्दै लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए।
सुप्रिम सहकारी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूमाथि कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। लामिछाने र जोशीले आफूमाथि लागेको आरोपको हिस्साअनुसार करिब २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत पेस गरेर थुनामुक्त भई मुद्दा लड्न पाउनुपर्ने जिकिर गर्दै आएका छन्। जिल्ला अदालतले जमानत अस्वीकार गर्दै थुनामा राख्ने आदेश दिएपछि उनीहरू उच्च अदालत पुगेका हुन्।
आजको इजलासले जिल्ला अदालतको आदेश सदर गर्ने, बदर गर्ने वा कैफियत प्रतिवेदन ९मिसिल० झिकाउने लगायतका आदेश दिन सक्नेछ। यदि अदालतले उनीहरूको पक्षमा आदेश दिएमा उनीहरू धरौटीमा रिहा हुन सक्नेछन्, अन्यथा थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।