लोड हुँदैछ...

मेनु

विराटनगर किङ्सलाई सुदूरपश्चिमको १५६ रनको चुनौती

विराटनगर किङ्सलाई सुदूरपश्चिमको १५६ रनको चुनौती

विराटनगर । नेपाल प्रिमियर लिगको आज जारी पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १५६ रनको चुनौती दिएको छ । सुदुरपश्चिमका ओपनर विनोद भण्डारीको अर्धशतकमा विराटनगरलाई उक्त चुनौती दिएको हो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो । विराटनगर विरुद्ध अर्धशतकपछि उनी सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लेका छन् । उनले ८ खेलबाट २६४ रन बनाएका छन् । पोखरा एभेन्जर्सबाट खेलेका इंग्लिस विकेटकिपर एडम रोसिङटनले लिगमा ७ खेलबाट एक शतकसहित सर्वाधिक ३२३ रन बनाएका छन् ।

यसै खेलबाट एनपीएलमा डेब्यु गरेका भारतका शेल्डन ज्याक्सनले २० रन जोडे । आरिफ शेखले पनि २० रन जोडे ।

यसै एनपीएलका अर्का डेब्युटान्ट मुख्तर अहमदले विनोदसँग ओपनिङ गरेका थिए । तर उनी १० रन बनाएर आउट भए । २१ रनमा पहिलो विकेट गुमाएको अवस्थामा विनोद र शेल्डन ज्याक्सनले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।

त्यसपछि विनोदले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । साम हिजलेटको बलमा नरेन भट्टले बाउण्ड्री लाइनमा सानदार क्याच लिएपछि पाण्डे १३ रनमा आउट भएका थिए ।

त्यसपछि आएका कप्तान दीपेन्द्र सिंह ऐरी दुई रन लिने चक्करमा व्यक्तित ३ रनमै रनआउट भए । हर्मित सिंहले ११ बलमा १४ रन जोडे ।

एक छेउबाट लगातार विकेट जाँदा ओपनर विनोदले अर्को छेउबाट इनिङ्स सम्हालेका थिए । तर उनी ६३ रन बनाएर १९औं ओभरको अन्तिम बलमा आउट भए । विनोद र आरिफ शेखले छैटौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । आरिफ अन्तिम ओभरमा आउट भए ।

बलिङमा विराटनगरका लागि मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २२ तथा सूर्य तामाङ र साम हिजलेटले १–१ विकेट लिए । डे लाङले ४ ओभरमा २३ रन खर्चेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।