विराटनगर । विराटनगर–३ मा रहेको बाल सुधार गृहमा पटक–पटक झडप गर्ने र फरार हुने प्रवृत्तिका ६० जनालाई सुरक्षित स्थानमा सारिने भएको छ ।
क्षमताभन्दा बढी बिजाइकर्ता, कमजोर सुरक्षा व्यवस्था र बारम्बार भाग्ने प्रयासले चुनौतीपूर्ण बनेको यस सुधार गृहका समस्याग्रस्त बालकहरूलाई जिल्ला कारागारको पुरानो भवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो ।
बाल सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेका अनुसार, हाल सुधार गृहमा २४५ जना रहेका छन् । जसमध्ये १७० जना अपराध प्रमाणित भएका र ७५ जना थुनुवा छन् । ५० जनाको क्षमता भएको सुधार गृहमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।
केही दिनअघि मात्रै सुधार गृहबाट ७ जना फरार भएका थिए, जसमध्ये एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि ‘जेनजी आन्दोलन’का क्रममा २०६ जना फरार भएकामा १९१ जना मात्रै फर्किएका थिए । हाल जेनजी आन्दोलनका १५ जना र हालै फरार भएका ६ जना गरी २१ जना अझै फरार छन्, जसमा ३ जना भारतीय नागरिकसमेत छन् ।
सुधार गृहभित्र बारम्बार झडप हुने गरेको छ । यहाँ १८ वर्षमुनिका बालबालिका मात्र नभई १८ वर्षभन्दा माथिका युवाहरू पनि छन्, जसका कारण समूह–समूहबीच विवाद र झडपका घटनाहरू नियमितजस्तै बनेका छन् । यस्ता गतिविधिले सुधार गृहको वातावरणलाई थप अराजक बनाएको छ । “झगडा गर्ने र पटक–पटक भाग्ने त्यही समूहलाई अर्को ठाउँमा सार्ने तयारी गरिएको हो । उनीहरूबाट सुधार गृहभित्र अराजकता र भाग्ने क्रम बढेपछि सुरक्षा निकायको सुझावअनुसार प्रशासनले यो निर्णय लिएको हो,’ सुरक्षा स्रोतले भन्यो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।