विराटनगर। विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्टका प्रतिनिधिको मिलेमतोमा साढे ६ लाख रुपैयाँभन्दा बढीको राजस्व छली भएको खुलेको छ ।
विशेष सूचनाको आधारमा खटिएको भन्सारकै टोलीले एजेन्टका मुख्य सहयोगी कुन्दन मण्डलसहित तीन जनालाई पक्राउ गरेपछि सुरु भएको अनुसन्धानबाट यो तथ्य बाहिर आएको हो । प्रारम्भिक अनुसन्धानबाट १० पोका सामानमा ६ लाख ५० हजारभन्दा बढी राजस्व छली भएको खुलेको छ ।
गत मंगलबार पक्राउ परेका मण्डलले को १ त ९७१७ नम्बरको ट्याक्टरमा ल्याइएका ४५ पोका सामानको मात्र राजस्व तिरेका थिए । अन्य १० पोका सामानको राजस्व छली गर्ने प्रयासस्वरूप उनले ती सामान भन्सार परिसरभित्रै रहेको एउटा एम्बुलेन्समा लुकाएका थिए । भन्सार कर्मचारीले सामान गणना सुरु गर्नुअघि नै एम्बुलेन्समा लुकाइएको अवस्थामा ती सामान फेला पारेका थिए ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार, नियन्त्रणमा लिइएको १० पोका सामानको बजार मूल्य करिब ५ लाख रुपैयाँ रहेको छ । “वैधानिक हिसाबले ५ लाखको सामानमा करिब १ लाख ५० हजार रुपैयाँ राजस्व लाग्छ,” उनले भने, “यो १० पोका सामानको राजस्व छली गर्न खोजिएको प्रस्ट देखिन्छ ।” बरामद गरिएका सामानमा खेलौना, कपडा र कुर्ता सुरुवाललगायतका सामग्री रहेका छन् । पक्राउ परेकाहरूलाई भन्सार ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका कुन्दन मण्डल भन्सार एजेन्ट सौगात पोखरेलका मुख्य सहयोगी भए पनि राजस्व छलीका अवैध काममा उनी आफैँ योजना बनाउने र कार्यान्वयन गर्ने गरेको स्रोतले दाबी गरेको छ । उनी राजस्व छलीका लागि विभिन्न जुक्ति लगाउन माहिर मानिन्छन् र पटक(पटक विवादमा समेत आइसकेका व्यक्ति हुन् ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।