लोड हुँदैछ...

मेनु

जेनेजी आन्दोलनमा तोडफोड र प्रहरी पोसाक दुरुपयोग गरेको आरोपमा तीन युवा पक्राउ

जेनेजी आन्दोलनमा तोडफोड र प्रहरी पोसाक दुरुपयोग गरेको आरोपमा तीन युवा पक्राउ

बिर्तामोड । झापामा गत भदौ महिनामा भएको जेनेजी आन्दोलनका क्रममा प्रहरी सम्पत्तिमा तोडफोड र प्रहरी पोसाक दुरुपयोगमा संलग्न रहेको आरोपमा थप तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी नायब निरीक्षक कुलप्रसाद सापकोटाको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बिर्तामोड–५ का २० वर्षीय राजन चौधरी र १६ वर्षीय आयुष धिमाल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई गत भदौ २३ र २४ गतेको जेनेजी आन्दोलनका क्रममा अनारमनीमा कार्यरत प्रहरी मीनबहादुर सुनुवारको निजी मोटरसाइकल तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो । दुबै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–६ लाटे क्याफे क्षेत्रबाट २० वर्षीय साजन लाबुहाङलाई पक्राउ गरेको छ । उनीमाथि भदौ २४ गतेको जेनेजी आन्दोलनका क्रममा प्रहरी पोसाक निकालेर दुरुपयोग गरेको आरोप छ। उनलाई पनि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि प्रहरीले बिर्तामोडबाट जेनेजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा ढुंगामुढा, आगजनी र कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा अर्जुनधारा–६ बस्ने २२ वर्षीय पदम राई, उनकी २४ वर्षीया पत्नी पूजा मगर, बिर्तामोड–५ का २६ वर्षीय नवराज राई तथा अर्का एक व्यक्ति रहेका छन्। अनुसन्धान जारी रहेकाले चौथो व्यक्तिको नाम हाल सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।