विराटनगर । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको भनी प्रसारित समाचारप्रति मन्त्री कुलमान घिसिङले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले उक्त हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् । पछिल्ला केही दिनदेखि चलेको राजीनामाको हल्लालाई चिर्दै घिसिङले आफू आफ्नो जिम्मेवारीबाट विचलित नभएको र जनादेश पूरा गर्न क्रियाशील रहेको बताएका छन् । ‘पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु,’ उनले आफ्नो स्टाटसमा लेखेका छन् ।
उनले वर्तमान सरकार विषम परिस्थितिमा गठन भएको स्मरण गराउँदै जनताको आशा र विश्वासलाई धोका नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ,’ घिसिङले उल्लेख गरेका छन् ।
आफूले एक्लैले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको र आन्दोलनले दिएको जनादेशअनुसार काम गर्न निरन्तर लागिपरेको पनि उनले स्पष्ट पारेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।