विराटनगर । नेकपा माओवादी केन्द्रको नेतृत्वमा हुन लागेको कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियामा सहभागी हुन नेत्रबिक्रम चन्द विप्लव तयार नभएपछि उनको पार्टी तीन दिनमा दोस्रो पटक फुटेको छ ।

पोलिटव्यूरो सदस्य चिरन पुनको नेतृत्वमा चन्द नेतृत्वको पार्टीका ७५ जनाले विद्रोह गरेको तेस्रो दिन पार्टीको स्थायी समितिका सदस्य कर्णजीत बुढाथोकीले विद्रोह गरेका हुन् ।

बुढाथोकी विप्लब नेतृत्वको नेकपाको ७ सदस्यीय स्थायी समितिका सदस्यमध्ये एक हुन् । उनले विप्लब नेतृत्वको नेकपा फुटाएर नेकपा समाजवादी बनाएका छन् । उनी नेतृत्वको नेकपा समाजवादी र पुन नेतृत्वको नेकपासहित ८ दलले माओवादी केन्द्रको नेतृत्वमा एकता प्रक्रियामा सामेल हुने सहमति पत्रमा आइतबार हस्ताक्षर गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका ८ दलविचमा एकता गर्ने सहमति पत्रमा बुढाथोकीको पनि हस्ताक्षर गरेका छन् । गत शुक्रबार मात्र विप्लव समूह फुटाएका चिरन पुनले पनि एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

दुई वर्ष अघि कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी)ले विप्लव समूहबीच एकता भएको थियो । विप्लब नेतृत्वको नेकपाले यसअघि पार्टी दर्ता प्रक्रियाको लागि बुढाथोकीकै नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

पार्टीको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ताका लागि स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको नेतृत्वमा चिरञ्जीवी ढकाल र कपिल पोखरेल रहेको समिति गठन गरेको थियो ।