विराटनगर । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन्।
आइतबार सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले नयाँ पार्टीको चुनाव चिह्न तारा रहने विज्ञप्तिमार्फत जनाएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि ८ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार एकता राष्ट्रिय महाधिवेशन कात्तिक १९ गते गरिनेछ भने आगामी ६ मिहनाभित्र एकता राष्ट्रिय महाधिवशेनको आयोजना गरिनेछ । एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।
एकीकृत दलले माक्र्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनेृ भएको छ । नयाँ पार्टीको नाम भने टुंगो लागिसकेको छैन ।
नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राखिने भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीहरुका साविकका केन्द्रीय समितिहरुलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने जनाइएको छ ।

