दमक । झापाको गौरादहस्थित एक होटलबाट जुवा खेलिरहेका रास्वपाका नगर सभापति जगत अधिकारीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार राति गौरादह नगरपालिका–५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले अधिकारीसहित १६ जनालाई नियन्त्रणमा लिएको हो ।
रास्वपा गौरादहका सभापति अधिकारीको अगुवाइमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको थियो । प्रहरीले होटल सञ्चालक दिलबहादुर मगर, युवराज खड्का, भरत कार्की, हृदय सुवेदी, टंक बराल, राम फुँयाल, केदार मगर, नवराज भट्टराई, रोशन खत्री, विनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ र सुदिप चेम्जुङ्गलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईले जानकारी दिए ।
पक्राउ गरिएकाहरूको म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ । उनीहरूको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका केही व्यक्ति भदौ २४ गते तोडफोड तथा आगजनीमा समेत संलग्न भएको प्रहरीले जनाएको छ ।
होटलमा लामोसमयदेखि जुवाजन्य प्रतिवन्धित खेलहरु हुँदै आएको स्थानीयले बताएका छन् । पक्राउ परेका जुवाडेहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेको छ ।

