विराटनगर । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको छ ।
आज बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय आयोजक समितिको बैठक १८ गते बस्ने र २० गते संयुक्त बैठक बस्ने निर्णय गरेको हो ।
पेरिसडाडामा बसेको सचिवालयको बैठकले नेकपा एससहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णयसमेत गरेको छ । सचिवालय बैठक जनार्दन शर्माले भने बहिस्कार गरेका थिए ।
शुक्रबारको बैठकमा पार्टी एकता गर्नु नहुने आफ्नो फरक राखेर हिँडेका शर्मालाई अध्यक्ष प्रचण्डले सबैको कुरा सुन्न आग्रह गर्दा पनि नमानेको सापकोटाले बताए । शनिबारको बैठक बहिस्कार गरेका शर्माको शैलीलाई पार्टीले अराजक र अनुशासनहीन भनेको छ ।
‘जनार्दनजीले राम्रो गर्नुभएन । अराजक गतिविधि देखाउनुभयो । हिजोको बैठकमा उहाँले आफ्नो कुरा राख्नुभयो’ प्रवक्ता सापकोटाले भने, ‘तर, अरूको कुरा पनि सुन्नुहोस् भन्दा बैठक छोडेर हिँड्नुभयो । आज बैठकमै आउनुभएन । त्यसैले उहाँबारे कुनै छलफल भएन ।’
देशमा अहिले देखिएको विषम सङ्कटको चुनौतीलाई सामना गर्न बृहत् वामपन्थीबिच एकीकरण हुन लागेको सापकोटाले जिकिर गरे । वामपन्थीबिच एकता र ध्रुवीकरण जेनजी आन्दोलनको भावना विपरीत नभएको उनको भनाइ छ ।
जेनजी आन्दोलनभन्दा पनि पहिलेदेखि नै वामपन्थी एकता र ध्रुवीकरणको विषय उठाइराखेको बताउँदै सापकोटाले जेनजीको माग सबैभन्दा बढी उठाउने पार्टी माओवादी नै भएको जिकिर गरे । जेनजीले उठाएका मागमा सकारात्मक मात्र होइन, उनीहरूको माग र माओवादीको सोच समान रहेको उनको भनाइ छ ।
पार्टी एकता हुने भएपछि छलफल गरेर एकता महाधिवेशनको अर्को मिति तोक्ने सापकोटाले बताए । सिङ्गो एकीकृत समाजवादी नै एकतामा ल्याउने गरी प्रयास भइरहेको बताउँदै उनले संयुक्त बैठक बसेर एकता घोषणा गर्ने निर्णय भएको जानकारी दिए ।

