पार्टी एकताको पक्षमा उभिए माओवादीका प्रदेश अध्यक्ष नेम्बाङ

पार्टी एकताको पक्षमा उभिए माओवादीका प्रदेश अध्यक्ष नेम्बाङ

विराटनगर । नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसहित ६ वटा घटकसँग गर्न लागेको पार्टी एकतालाई गलत भन्न नहुने पार्टीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले बताएका छन् ।

माओवादीको सचिवालय बैठकले शनिबार पार्टी एकताको निर्णय गर्दा नेता जनार्दन शर्माले त्यसको विरुद्ध उभिएका थिए । तर, उनी निकट भनिएका अधिकांश नेताहरु एकताको पक्षमा उभिएका छन् ।

प्रदेश अध्यक्ष नेम्बाङलाई पनि शर्मा निकट नेताको रुपमा चिनिन्छ । शर्मा अर्थमन्त्री हुँदा उनी स्वकीय सचिब रहेका थिए । शर्माले अहिले पार्टी एकता गर्न नहुने र तत्काल एकता रोक्नेपर्ने धारणा राख्दै शनिबारको सचिवबालय बैठक छाडेर हिँडेका थिए ।

प्रदेश अध्यक्ष नेम्बाङले भने ध्रुविकरण र एकतामा हजारौं नेता तथा कार्यकर्ताको भावना पनि जोडिएको हुने भन्दै एकता हुनुलाई गलत मान्न नहुने बताएका छन् । ‘नेतृत्वको कुरा एउटा ठाउँमा होला । तर, ध्रुविकरण र एकतामा हजारौं नेता कार्यकर्ताको भावना पनि जोडिएको हुन्छ । त्यसकारण पनि एकता हुनुलाई गलत मान्न हुदैन’ उनले फेसबुकमा लेखका छन् ।

यसअघि शर्मा निकट भनेर चिनिएका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीचको एकतालाई आजको समयको अनिवार्य आवश्यकता रहेको बताएका थिए । दुवै पार्टीबीच मार्गदर्शक सिद्धान्त, विचार, कार्यदिशा र राजनीतिक कार्यक्रममा समानता रहेको हुँदा एकता स्वाभाविक र व्यवहारिक कदम भएको उनको भनाइ छ ।

“यदि बाहाना नखोज्ने हो भने, माओवादी र एकीकृत समाजवादी बीचको एकता प्राकृतिक र आजको अनिवार्य आवश्यकता हो” उनले भनेका छन् । नेतृत्व, कार्यविभाजन, पार्टीको नाम र चुनाव चिन्ह जस्ता विषयहरू समझदारी र सहमतिको माध्यमबाट समाधान गर्न सकिने उनको भनाइ छ ।

आङ्बोले कम्युनिस्ट पार्टीहरूबीचको एकतालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् । उनले भने, “कम्युनिस्ट पार्टीहरू बीचको एकता राम्रो कुरा हो, यसलाई आत्मसात् गरौं। विचार मिलेपनि एकता हुन नसकेका शक्तिबीच संयुक्त मोर्चा निर्माण गरौं, गलत गाली संस्कृतिलाई नदोहोर्‍याऔं।”

पार्टी एकता गर्नुहुन्न भन्ने जनार्दन शर्माको धारणमा भोजपुरका नेता सुदन किराती भने सहमत देखिएका छन् । उनले आफू निकट कार्यकर्ताहरुलाई अब पार्टी विभाजन गर्ने बताइसकेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्