सहलेश युथ क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा

विराटनगर । सिरहाको सहलेश युथ क्लब बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङको बेलबारी–११, लक्ष्मीमार्गस्थित खेल मैदानमा बुधबार भएको रोमाञ्चक क्वाटरफाइनल खेलमा ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सहलेशले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको पहिलो हाफमा चर्च ब्वाइजले अग्रता लिएको थियो । खेलको २५ औं मिनेटमा चर्च ब्वाइजका आकाश राईले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । तर, चर्च ब्वाइजको अग्रता लामो समय टिक्न सकेन । त्यसको १२ मिनेटपछि, खेलको ३७ औं मिनेटमा सहलेशका आदित्य शाक्यले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा सहलेश युथ क्लबले आक्रामक खेल प्रदर्शन गर्‍यो । खेल सुरु भएको ४ मिनेटमै जय गुरुङले गोल गर्दै सहलेशलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि सहलेशले आफ्नो दबाब कायमै राख्यो । दोस्रो हाफको १३औं मिनेटमा आदित्य शाक्यले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित ३–१ ले सुनिश्चित गरे ।

जितसँगै सहलेशले अब फाइनल प्रवेशका लागि असोज ३१ गते भोजपुर फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको ‘म्यान अफ द म्याच’ सहलेशका लागि दुई गोल गरेका आदित्य शाक्य घोषित भए । उनले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल खेल आयोजक एलएक्स फुटबल क्लब, लक्ष्मीमार्ग र ‘बी’ डिभिजन लिग विजेता प्लानिङ ब्वाइज युनाइटेड क्लब, काठमाडौंबीच हुनेछ ।

अशोज २९, २०८२, साँझको ०७:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर