विराटनगर । जिल्ला प्रहरी कार्यालय झापाले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको पटका र झिलिमिली बत्ती बरामद गरेको छ ।
झापा प्रहरीका अनुसार गएराति साढे १० बजे भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित राई बस्तीमा विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त सामग्री बरामद गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ तस्करहरूले चारवटा प्लास्टिकको बोरामा रहेका सामानहरू छाडेर भागेका थिए ।
घटनास्थलबाट बरामद गरिएका बोराहरूमा विभिन्न किसिमका अवैध पटाका र झिलिमिली लाइट बल्बहरू फेला पारेको प्रहरीले जनाएको छ । बरामद गरिएका ती सामग्रीहरूको अनुमानित बजार मूल्य करिब चार लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सम्पूर्ण सामानहरू हाल वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।