विराटनगर । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केपी ओली नेतृत्वका सरकारमा सामान्य प्रशासन मन्त्री रहेका बुधबार एमाले नेता गुप्ता र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । सो प्रकरणमा जोडिएका एमाले नेता एवं तत्कालीन भुमिसुधार मन्त्री बलराम अधिकारीलाई भने मुद्दामा प्रतिवादी बनाइएको छैन । अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको अख्तियारले दावी गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा भुमिसुधार मन्त्री रहेका गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए ।
जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठ पनि जोडिएकी थिइन् । उनीहरुले बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणको अनुसन्धान अगाडि बढेको थियो । तर, राजनीतिक दबाबको कारण अख्तियारले मुद्दा दर्ता गरेको थियो । ओली सरकार विघटन भएर अन्तरिम सरकार बनेपछि जेनजी समूहले अख्तियार प्रमुखको राजीनामा मागिरहेको बेला मुद्दा दायर गरिएको हो ।
कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाको अडियो गत असारमा सार्वजनिक भएको थियो । त्यसपछि अख्तियारले पूर्वमन्त्रीसहित बिचौलियाको बयान लिएको थियो ।
त्यतिबेला भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न मन्त्री गुप्ताले ५३ लाख घुस लेनदेनसम्बन्धी डिल गरेको अडिओ सार्वजनिक भएको थियो ।