राहत र पुनःस्थापनाका लागि लिम्बूको अपिल

इलाम । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले इलाम जिल्ला नराम्रोसँग प्रभावित बनेको भन्दै रास्वपाका नेता मिलन लिम्बूले राहत र पुनस्र्थापनाका लागि अपिल गरेका छन् ।

सोही क्षेत्रबाट संघीय संसदमा प्रतिस्पर्धा गरेका रास्वपा नेता लिम्बूले अपिल जारी गर्दै बाढीपहिरो पीडितहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि सबैलाई एकजुट हुन आव्हान गरेका हुन् । सरकारी र सुरक्षा निकायको प्रयासका बाबजुद पनि क्षतिको आकार ठूलो भएकाले नागरिक स्तरबाट थप सहयोगको आवश्यकता रहेको उनको भनाइ छ ।

‘संघीय र स्थानीय सरकारबाट राहत घोषणा भए पनि यतिले मात्र स्थिति सहज बन्न सक्दैन । तसर्थ, हामी आम नागरिकले पनि सक्दो सहयोग गर्नुपर्ने बेला आएको छ,’ उनले भनेका छन् ।
बाढीपहिरोले जिल्लाका मुख्य तथा ग्रामीण सडकहरू पूर्ण रूपमा ध्वस्त बनाउँदा आपतकालीन सेवा प्रवाहमा समेत कठिनाइ उत्पन्न भएको उनले बताएका छन् । ‘वर्षौं लगाएर बनाइएका कयौँ पुलहरू बगेका छन् भने जिल्लाको सडक सञ्जाल टुटेको छ,’ लिम्बूको अपिलमा उल्लेख छ, ‘विद्युतका पोलहरू ढलेका कारण अधिकांश क्षेत्र अन्धकारमा डुबेको छ र विद्युत आपूर्ति कहिले सुचारु हुन्छ भन्ने अनिश्चित छ । खानेपानीका मुहानहरू पहिरोले पुरिँदा शुद्ध पिउने पानीको चरम अभाव देखिएको छ । जसले गर्दा रोगको प्रकोप फैलन सक्ने खतरा बढेको छ ।’

अपिलमा विपद्पछिको प्रकोपलाई रोक्नु मुख्य चुनौती रहेको बताउँदै तत्काल घाइतेहरूको उपचारलाई निःशुल्क उपचार गर्नुपर्ने, मृतकहरूको दाहसंस्कार र काज किरियामा सहयोग गर्नुपर्ने, विस्थापितहरूलाई आपतकालीन राहत र पुनस्र्थापना गर्नुपर्ने, खानेपानीका मुहानहरूको सरसफाई र पुनर्निर्माण गर्नुपर्ने र विद्युत र सडक सञ्जाल तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनु पर्नेमा उनले जोड दिएका छन् । लिम्बू आफू पनि राहत र उद्धारमा जुटिरहेको जनाएका छन् ।

अशोज २१, २०८२, रातीको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर