ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले बुझ्योः कार्की आयोगमा पठाइने

विराटनगर । ‘हामी नेपाली’का संस्थापक सुधन गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित विरुद्ध दिएको किटानी जाहेरी प्रहरीले जाँचबुझ आयोगलाई पठाएको छ ।

प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी लिएर आयोगमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा गुरुङको समूहले जाहेरी पेश गरेको थियो । उनीहरुले सोमबार साँझ प्रहरी कार्यालय पुगेर जाहेरी दर्ताको लागि दबाब दिँदै दर्ता नगरे ‘सडकबाटै देखाइदिने’ धम्की दिएका थिए ।

सो समूहको धम्कीपछि सोमबार राति नै प्रधानमन्त्रीसहित भएको छलफलबाट जाहेरी लिएर छानविनज समितिमा पठाउने सहमति भएको प्रहरी स्रोतले जनाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएपछि प्रहरीले उक्त जाहेरी जेनजी आन्दोलबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको पूर्वन्यायाधीश गौरिबहादुृर कार्की नेतृत्वको समितिलाई पठाएको हो ।

सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेका ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले ओली र लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् । गुरुङले भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका परिवारको तर्फबाट जाहेरी बोकेर प्रहरीमा गएका थिए ।

गुरुङसहित जेनजीबाट ओलीसहितलाई पक्राउ गर्न दबाब बढेपछि सोमबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । त्यसक्रममा सुरक्षा प्रमुखहरूले तत्कालै जाहेरी दर्ता र पक्राउ गर्ने बाटोमा जानु नहुने मत राखेका थिए । गृहमन्त्री ओमप्रकाश अर्यालले जाहेरी दर्ता गरेर पक्राउ गर्नुपर्ने धारणा राखेपछि सुरक्षा अधिकारीले भोलि काठमाडौंका मेयर बालेन शाहविरुद्ध पनि जाहेरी आउसक्ने भन्दै त्यस्तो अवस्थामा के गर्ने भन्ने प्रश्न गरेका थिए ।

‘विगतमा उहाँले सिंहदरबार जलाउने भन्दै स्ट्याटस लेखेकाले त्यही उद्धृत गर्दै जाहेरी आए त्यो पनि दर्ता गर्नुपर्ने अवस्था आउनसक्छ’ सुरक्षा अधिकारीको भनाइ थियो । नेपाली सेनाले समेत परिस्थिति जटिल रहेको भन्दै संयमतापूर्वक अघि बढ्नुपर्ने सुझाव दिएपछि पक्राउ र जाहेरी दर्ताको विषय थाती राखेर आयोगमा निवेदन पठाउने सहमति भएको बताइएको छ ।

बालुवाटराको छलफल अनुसार प्रहरी जाहेरी लिन तयार भएको हो । तर, दर्ता नगरी आयोगमा बुझाउने निर्णय भएको छ ।

भदौमा २३ भएको जेन–जी आन्दोलनमा राज्यपक्षले दमन गर्दा एकैदिन २१ जनाले ज्यान गुमाएका थिए । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका जेन–जीमाथि दमन भएपछि २४ गते देशभर विध्वंश मच्चाईएको थियो ।

दुई दिनमा ७५ जनाको मृत्यु भएर संसद भवन र सिंहदरबारमा पनि आगो लगाएपछि सुरक्षा निकायको दबाबमा तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए ।

अशोज २१, २०८२, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर