लोड हुँदैछ...

मेनु

विघटित प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनावमा होमिनु पर्छ

विघटित प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनावमा होमिनु पर्छ

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुलुकलाई बर्तमान राजनीतिक संकटबाट निकास दिन तत्काल निर्वाचनमा जानुपर्ने बताएका छन् । उनले निर्वाचनमा होमिने निर्णयसँगै राजनीतिक दलहरूमा व्यापक सुधारको खाँचो रहेको पनि औंल्याएका छन्।

संविधान संशोधन नगरी शासकीय स्वरूप (प्रत्यक्ष कार्यकारी) र निर्वाचन प्रणाली (पूर्ण समानुपातिक) परिवर्तन गर्न सम्भव नहुने भन्दै उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापना अब मुलुकको हितमा नरहेकोमा जोड दिएका छन्।

आङ्बोले वर्तमान राजनीतिक अकर्मण्यता र अन्योलपूर्ण अवस्थाबाट दलहरू छिटो बाहिर निस्किएर घोषित मितिमै निर्वाचनमा होमिन ढिलाइ गर्न नहुने बताएका हुन्। उनले राजनीतिक दलहरूलाई लोकतन्त्रको आधार स्तम्भका रूपमा परिभाषित गर्दै भने, ‘पार्टीहरूमा ठूलो सुधार र पुनर्संरचनाको अपरिहार्यतालाई अब कसैले ढाकछोप गर्ने अर्को गल्ती गर्नु हुँदैन।’ उनको भनाइ छ कि अब पार्टीहरूले आफ्नो औचित्य साबित गर्नुपर्ने बेला आएको छ।

वर्तमान प्रतिनिधि सभाको विघटनलाई जेन–जी विद्रोहको परिणामका रूपमा व्याख्या गर्दै आङ्बोले पुरानो प्रतिनिधि सभा पुनर्स्थापना अब मुलुकले थेग्नै नसक्ने तर्क गरे। यसले मुलुकलाई झन् अनिश्चय र संकटतर्फ धकेल्ने उनको विश्लेषण छ। ‘मुलुक झन् पछि झन् अनिश्चय र संकट तर्फ धकेलिदै छ, हामी ठुलो भू–राजनैतिक चपेटामा त छौं नै राष्ट्रियता, लोकतन्त्र र संविधान संकटमा पर्दैछ,’ उनले भने।

आङ्बोले मुलुकमा उत्पन्न विषम परिस्थितिको सामना गर्न र लोकतान्त्रिक मार्गमा फर्काउनका लागि ताजा जनादेश अपरिहार्य रहेकोमा जोड दिएका छन्। उनले अकर्मण्यता र अन्योलताबाट बाहिर निस्केर तत्काल निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘ताजा जनादेशले मात्र देशलाई लोकतान्त्रिक मार्गमा फर्काउछ। उनका अनुसार, मुलुक, संविधान र लोकतन्त्र रहे मात्रै बाँकी बहसहरू गर्दै जान सकिनेछ। यसले वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी देशलाई स्थायित्व र समृद्धिको दिशातर्फ लैजाने उनको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।