विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राई भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित भएका छन् ।
विभागीय मूल्य मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले भदौ २८ गते विराटनगर महानगरपालिका–१५ बाट बन्दाकोभी बोकेको मे.१ च. ५८२६ नम्बरको बोलेरो गाडीबाट २६२ किलो गाँजासहित तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको थियो । उनलाई मुख्य गरी सोही सफलताका आधारमा पुरस्कृत गरिएको हो ।
त्यसबाहेक राईले विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूबाट चोरी भएको ११ थान मोटरसाइकल, तीन थान अटो टेम्पो, एक थान सिटी रिक्सा चार थान स्कुटर, ब्याट्री आदि चोरीका सामानहरु बरामद गरेका थिए । लागुऔषध नियन्त्रणमा पनि उनको उत्कृष्ट भूमिका रहेको प्रदेश प्रहरी कार्यालयको मूल्यांकन रहेको छ ।
महिनाको उत्कृष्ट घोषित भएका प्रहरी कर्मचारीको तस्बिर एक महिनासम्म सबै प्रहरी युनिटहरुमा प्रदर्शनमा राखेर प्रोत्साहन गर्ने अभ्यास प्रहरीले गर्दै आएको छ ।

