विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्षले स्थानीय केही व्यक्तिहरूबाट ज्यान मार्नेसम्मको धम्की आएपछि वडा कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था नरहेको गुनासो गरेका छन् । हालैको ‘जेनजी’ आन्दोलनको प्रभाव अझै कायम रहेको र सुरक्षाको अभावका कारण आफू असुरक्षित महसुस गरिरहेको उनले बताएका हुन् ।
‘म आज पनि वडा कार्यालयमा थिएँ, तर बस्न सक्ने अवस्था नभएपछि घर फर्किएँ, वडाध्यक्षले भने । ‘मार्दिन्छु, कुट्दिन्छु, हान्दिन्छु जस्ता धम्कीहरू आइरहेका छन् । यस्तै धम्कीका कारण म कार्यालयमा नियमित बस्न सकेको छैन ।ू धम्की दिनेहरू बाहिरी नभएर स्थानीय व्यक्तिहरू नै रहेको उनको भनाइ छ ।
वडाध्यक्षका अनुसार, केही स्थानीयले दशैँ खर्चको निहुँमा धम्क्याउने गरेका छन् । साथै, केही समूहले झन्डी मुकुट र तासजस्ता जुवा खेलाउन पाउनुपर्ने वा त्यसलाई पूर्ण रूपमा बन्द गर्नुपर्ने जस्ता अनावश्यक विषय उठाएर निहुँ खोज्ने र झगडा गर्ने गरेको उनले बताए । ‘कोही रक्सी खाएर आउँछन्, कसैलाई दशैँ खर्च चाहियो भन्छन्,ू उनले थपे, ूकोही झन्डी मुकुट खेलाउन दिनुपर्यो भन्छन्, कोही बन्द गर्नुपर्यो भन्छन् । यिनै निहुँमा झगडा हुन्छ ।’
जनप्रतिनिधिको हैसियतले यस्ता गैरकानुनी क्रियाकलापलाई न त सञ्चालन गर्न अनुमति दिन सक्ने, न त एक्लै रोक्न सक्ने अवस्थामा रहेको बताउँदै उनले यिनै विषयलाई लिएर आफूमाथि आक्रमणको प्रयास भइरहेको बताए । ‘आगो लाइदिन्छु, मार्दिन्छु, हान्दिन्छु भन्ने धम्की आउँछ । वडामा शान्ति सुरक्षाको अवस्था कमजोर छ, प्रहरी बाहिर आउन सकेको छैन । यस्तो अवस्थामा कसरी काम गर्नु ?’ उनले प्रश्न गरे ।
आन्दोलनका क्रममा विराटनगरका १३ वटा वडा कार्यालयमा क्षति पुगेको थियो, जसमध्ये केहीमा आगजनी नै गरिएको थियो ।
यद्यपि, वडाध्यक्षले यस्तो परिस्थितिमा पनि वडाको सेवा प्रवाह भने नरोकिएको दाबी गरे । आफ्नो वडामा धेरै भौतिक क्षति नभएकाले भदौ २५ गतेदेखि नै सेवाहरू निरन्तर दिइरहेको उनले जानकारी दिए । ूमैले सबै सेवा दिइरहेको छु,‘उनले भने, ‘अन्य क्षति भएका वडा, जस्तै १९ नम्बर वडाका ज्येष्ठ नागरिकको सेवा पनि मेरै वडाबाट उपलब्ध गराएको छु । आवश्यक सिफारिसहरू सबै यहीँबाट भइरहेका छन् ।’
तर, निरन्तर काम गर्दागर्दै पनि स्थानीयबाटै असुरक्षित हुनुपरेकोमा उनले दुःख व्यक्त गरे । ‘मान्छेहरू काम भएन भन्छन्, तर हामीलाई कार्यालयमा बस्ने अवस्था नै छैन,उनले भने ।