अनलाइन भ्यालुएसन सफ्टवेयर उद्घाटन गर्न अर्थमन्त्री विराटनगर आउँदै

विराटनगर । अर्थमन्त्रीमा नियुक्त भएपछि रामेश्वर खनालले बुधबार पहिलोपटक राजधानी बाहिरका कार्यक्रममा भाग लिने भएका छन् । मन्त्री खनाल अनलाइन भ्यालुएसन सफ्टवेयरको उद्घाटन तथा अन्य कार्यक्रमका लागि बुधबार विराटनगर आउन लागेका हुन् ।

खनालका निजी सचिव सुबोध खतिवडाले खनाल बुधबार बिहान विराटनगर पुगेर सोही दिन काठमाडौं फर्कने बताए । उनका अनुसार खनालले आन्तरिक राजस्व कार्यालय विराटनगरको स्वस्त भवनको निरीक्षण गर्नेछन् । गत भदौ २४ को प्रदर्शनमा त्यस कार्यालयका सम्पूर्ण सामग्रीमा आगो लगाइएको थियो ।

कार्यालयका प्रमुख केशव उप्रेतीले फोहर सफा गरेर छेउकै एक सानो टहरोमा बसेर सामान्य कार्यसम्पादन सुरु भएको जानकारी दिए । आन्तरिक राजस्वको निरीक्षणपछि मन्त्री खनाल आइसीपीस्थित विराटनगर भन्सार पुग्नेछन् । त्यहाँ उनले उद्घाटन भएर पनि डेढ वर्षदेखि संचालनमा आउन नसकेको नेपाल–भारत कार्गो रेलवे यार्डको निरीक्षण गर्नेछन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा भएका बेला २०८० जेठ ९ मा दुवै देशका प्रधानमन्त्रीले उक्त रेलवे यार्डको डिजिटल उद्घाटन गरेका थिए । त्यसपछि नेपालका व्यवसायीले नेपालतर्फको रेल वे यार्डको भाडादर र अन्य खर्च महँगो भएको भन्दै आयातित वस्तु सीमापारिकै यार्डमा अनलोड गरेर आयात गरिरहेका छन् । यसका कारण नेपालतर्फको रेल वे यार्ड प्रतिदिन कामनलाग्ने र बेवारिसे भइरहेको छ ।

मन्त्री खनालले विराटनगर भन्सारमा अनलाइन भ्यालुएसन सफ्टवेयरको उद्घाटन गर्नेछन् । विराटनगर भन्सारका प्रमुख उमेश श्रेष्ठले देशका सबै मुख्य भन्सार कार्यालयमा यस्तो सफ्टवेयर इन्स्टल गरेर सञ्चालनमा ल्याउने विभागको कार्यक्रम रहेको जानकारी दिए ।

प्रमुख श्रेष्ठले सोही अनुरुप विराटनगरमा पाइलट कार्यक्रमका रुपमा यसको सञ्चालन गर्न लागिएको बताए । श्रेष्ठले हरेक ६ महिनामा विभागले अद्यावधिक गर्ने सन्दर्भ मूल्यसूचीलाई क्रमश निष्क्रिय बनाउँदै लैजाने र वास्तविक मूल्यांकन पद्धति अपनाउने उद्देश्यले यस्तो सफ्टवेयर राख्न खोजिएको स्पस्ट पारे ।

यस पद्धतिबाट वस्तुको मूल्यांकन छिटोछरितो, पारदर्शी र कम जोखिमपूर्ण हुने बताइएको छ। यसको प्रयोगले वस्तु मूल्यांकन र भन्सार जाँचपासका क्रममा हुने भ्रष्टाचार पनि नियन्त्रण हुने विश्वास विभागका अधिकारीले गरेका छन् । क्रमश वस्तुको मूल्यांकनमा यस सफ्टवेयरमा आर्टिफिसियल इन्टेलिजेन्स पनि समायोजन गरिने लक्ष्य रहेको श्रेष्ठले बताए ।
अर्थमन्त्री खनालले कोशी प्रदेशका मुख्य व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम पनि छ । त्यस्तै उनकै उपस्थितिमा राजस्व चुहावट समितिको पनि बैठक बस्ने निजी सचिव खतिवडाले जानकारी दिए ।

अशोज ८, २०८२, बिहानको ०९:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर