विराटनगर । विराटनगर महानगरपालिकामा हालै भएको आगलागीका कारण नयाँ घर निर्माण गर्न चाहने नगरवासीले केही समय कुर्नुपर्ने भएको छ । महानगरपालिकाको घरनक्सा शाखामा आगजनी हुँदा सम्पूर्ण कागजात जलेर नष्ट भएपछि तत्काल सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेकोले नयाँ घर निर्माणको प्रक्रिया रोकिएको हो ।
शाखाका प्रमुख तथा इन्जिनियर गोपाल पोखरेलका अनुसार आगलागीले शाखाको सम्पूर्ण भौतिक अभिलेख नष्ट पारेको छ, जसका कारण तत्काल नयाँ नक्सा पास गर्ने वा निर्माण अनुमति दिने काम पूर्ण रूपमा ठप्प भएको छ । “आगलागीबाट शाखामा रहेका सबै फाइल जलेर नष्ट भएका छन्, हामीसँग कुनै पनि आधिकारिक रेकर्ड बाँकी छैन,” पोखरेलले भने, “यसले गर्दा सेवा प्रवाह सुरु गर्न केही समय लाग्ने निश्चित छ ।”
आगलागीबाट महानगरपालिका स्थापना भएदेखि हालसम्म नक्सा पास भएका करिब ५० हजारभन्दा बढी घरका फाइलहरू जलेर नष्ट भएका छन् । यसका साथै, निर्माण प्रक्रियामा रहेका करिब १४ सय फाइल र पहिलो चरणको अनुमति लिएका तर दोस्रो चरणको प्रक्रियामा नगइसकेका करिब २ हजार घरधनीको कागजात पनि पूर्ण रूपमा नष्ट भएको छ । पहिलो चरणको मात्र अनुमति लिएका व्यक्तिहरूसँग नक्साको प्रतिलिपि नहुने हुँदा उनीहरू सबैभन्दा बढी मारमा परेका छन् ।
बर्खा सकिएर हिउँद लागेसँगै घर निर्माणको सिजन सुरु भएकाले नयाँ घर बनाउन अनुमति माग्न आउनेहरूको संख्या बढिरहेको छ । तर, कार्यालयसँग कुनै अभिलेख नभएकाले तत्काल सेवा दिन नसकिने अवस्था रहेको पोखरेलले बताए । उनका अनुसार दैनिक रूपमा सेवाग्राहीहरू कार्यालयमा सम्पर्क गर्न आइरहेका छन्, तर उनीहरूलाई हालको अवस्थाबारे जानकारी गराएर फर्काउनु परेको छ ।
सेवा पुनः कसरी सुरु गर्ने भन्ने विषयमा महानगरपालिकाभित्र छलफल भइरहेको पोखरेलले जानकारी दिए । हालको लागि सेवाग्राहीसँग भएको नक्साको प्रतिलिपिलाई आधार मानेर नयाँ अभिलेख खडा गर्ने विकल्पमाथि विचार भइरहेको छ । उनले भने, “हामीले अब सेवाग्राहीसँग भएको नक्साको प्रतिलिपि मागेर त्यसैलाई फाइल बनाई रेकर्डको रूपमा राख्ने र काम अघि बढाउने विषयमा छलफल गरेका छौँ । जसको नक्सा पास भइसकेको छ वा प्रक्रियाको दोस्रो–तेस्रो चरणमा हुनुहुन्छ, उहाँहरूसँग एक–एक प्रति हुन्छ, त्यसैलाई आधार मान्नुपर्ला ।”
विगतमा विराटनगरमा वार्षिक १ हजार देखि १५ सयसम्म नयाँ घर बन्ने गरेको भए पनि पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीका कारण गत वर्षदेखि यो संख्यामा उल्लेख्य गिरावट आएको थियो । हाल मासिक १२ देखि १५ वटा नयाँ घरको नक्सा पास हुने गरेको थियो । यो आगलागीले महानगरपालिकालाई ठूलो प्रशासनिक चुनौती थपिदिएको छ भने नयाँ घर बनाउने योजनामा रहेका हजारौँ नगरवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।