मध्यरातमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार

विराटनगरको फार्मेसीमा हप्ता असुलीको आतंकले व्यवसायी त्रसित

विराटनगर । विराटनगरको नोबेल हस्पिटल अगाडि रहेको फार्मेसीमा आपराधिक समूहले आतंक मच्चाउने गरेका छन् । विराटनगर–७ का ‘काले’ भनिने विश्वास मण्डल नेतृत्वको समूहले त्यस क्षेत्रमा सञ्चालित फार्मेसीमा असुली धन्दा चलाउने गरेको पाइएको हो ।यहाँका व्यवसयाीहरुमाथि हप्ता असुली गर्ने र फार्मेसी सञ्चालकलाई मध्यरातमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएपछि यहाँका एक दर्जनभन्दा बढी व्यवसायी त्रसित भएका छन् ।

आइतबार राति करिब ११ बजेको समय, जब दिनभरको कोलाहल शान्त हुँदै थियो, मायालु फार्मेसीका सञ्चालक २५ वर्षीय सुभाषप्रसाद सिंह गनगाई आफ्नो काम सकेर खाना खाई पसलमा फर्कंदै थिए । त्यही समयमा विश्वास मण्डलले फार्मेसी अगाडि एकाएक ढुंगा हान्न थाले । आफ्नो पसलमा बिनाकारण ढुंगा हान्न थालेपछि सुभाषले सामान्य नागरिकको हिसाबले प्रतिवाद गर्दै सोधे, “किन ढुंगा हानेको ?”

तर, उनको यही प्रश्न मण्डल र उसको समूहका लागि असह्य बन्यो । सुभाषका दाजु शिवमकुमार गन्गाईका अनुसार, सामान्य सोधपुछ गरेको विषयलाई उनीहरुले आफ्नो ‘गुण्डागर्दी’ माथिको चुनौतीका रूपमा लियो । “बाठो कुरा गर्छ ?” भन्दै विश्वास सिधै फार्मेसीभित्र पसे र आफ्नो साथमा रहेको धारिलो चक्कु निकालेर सुभाषको पेटमा निर्ममतापूर्वक प्रहार ग¥यो ।
अचानक भएको यो सांघातिक हमलाले सुभाष रक्ताम्य हुँदै भुइँमा ढले । उनको उपचार नोबेल हस्पिटलमा भइरहेको छ । “भाइले कुनै ठूलो विवाद गरेको थिएन, केवल आफ्नो पसलमा किन ढुंगा हानेको भनेर सोधेको मात्र थियो । यति सोध्दा पनि यस्तो अमानवीय हमला भयो,” शिवमले पीडा व्यक्त गर्दै भने, “अहिले भाइ गम्भीर घाइते अवस्थामा नोबेल अस्पतालमा उपचार गराइरहेको छ ।”मण्डल समूहको आतंक सुभाषमाथिको आक्रमणमा मात्र सीमित रहेन । उनीहरूले घटना देख्ने र प्रतिकार गर्न खोज्ने अन्य व्यक्तिहरूलाई पनि निशाना बनाए । सुभाषमाथि आक्रमण भइरहेको देखेर छुट्याउन पुगेका जस्मिन फार्मेसीमा कार्यरत दयानन्द मण्डललाई पनि उक्त समूहले कुटपिट ग¥यो ।

त्यसलगत्तै, युमा मेडिकोमा काम गर्ने २७ वर्षीय चन्दनकुमार साहलाई समेत उनीहरूले धम्की दिँदै आक्रमण गरे । चन्दनका अनुसार, श्याम चन्द्रवंशी, नितेश रोय र विश्वास मण्डलसहितको समूहले उनलाई ‘किन गाली गरिस् ?’ भन्दै पसलबाट बाहिर निकाले । “मलाई नोबेल अस्पताल अगाडिको नहरको पुलमा लगेर दुई झापड हाने र ‘पुलिसलाई खबर गरिस् भने राम्रो हुँदैन’ भन्दै ज्यान मार्ने धम्की दिएर गए,” चन्दनले उक्त घटना सम्झँदै भने ।

नोबेल अस्पताल अगाडि करिब तीन दर्जन फार्मेसी सञ्चालनमा छन्, जसमध्ये अधिकांश बाहिरी जिल्लाबाट आएर व्यवसाय गर्नेहरू छन् । यही कुराको फाइदा उठाउँदै विश्वास मण्डल नेतृत्वको समूहले एक दर्जनभन्दा बढी फार्मेसीलाई निशाना बनाएर साप्ताहिक रूपमा रकम असुल्ने गरेको पीडितहरूले बताएका छन् ।

युमा मेडिकका सञ्चालक चन्दनकुमार साहका अनुसार, ८–१० जनाको संख्यामा आउने यो समूहले हरेक हप्ता पैसा माग्ने गथ्र्यो । उनीहरू प्रायः नशालु पदार्थ सेवन गरी घरेलु हतियारसहित आउने र व्यवसायीलाई आतंकित पार्ने गर्थे । ‘हामीले भनेजति पैसा दिनुपर्छ, नभए ठीक हुँदैन’ भनेर धम्क्याउँछन्,’ चन्दनले भने, ‘हप्ता पुगेपछि एक हजार रुपैयाँभन्दा बढी माग्छन् । पैसा दिन आनाकानी गरे ज्यान मार्नेसम्मको धम्की दिन्छन् ।’

घटनापछि व्यवसायीहरूले प्रहरीसँग सुरक्षा मागेका छन् । सोमबार, ८ जना फार्मेसी सञ्चालकले मोरङ प्रहरीमा मण्डल समूहविरुद्ध सामूहिक किटानी जाहेरी दिएका छन् । जाहेरी दिनेहरूमा युमा मेडिकका चन्दनकुमार साह, शिवाय फार्मेसीका पंकज साह, नमस्कार फार्मेसीका पिन्टु यादव, मायालु फार्मेसीका सुभाषप्रसाद सिंह, जानकी फार्मेसीका नित्यराज सहनी, जस्मिन फार्मेसीका संजयकुमार यादव, ओम शान्ति फार्मेसीका दीपक साह र राजु कृष्ण फार्मेसीका कृष्ण साह रहेका छन् । उनीहरूले विश्वास मण्डल, श्याम चन्द्रवंशी (केसी), सुरज पासवान, अरुण यादव र सायद अन्सारीविरुद्ध उजुरी दिएका हुन् ।
यसका साथै, घाइतेका दाजु शिवमकुमार गन्गाईले मण्डलविरुद्ध ज्यान मार्ने उद्योगमा छुट्टै किटानी जाहेरी दिएका छन् ।
व्यवसायीको उजुरीपछि मोरङ प्रहरीले तत्कालै कारबाही अगाडि बढाएको जनाएको छ । आक्रमणका मुख्य अभियुक्त विश्वास मण्डललाई घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ गरिएको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । उनका अनुसार, घटनालाई गम्भीर रूपमा लिई अनुसन्धान अघि बढाइएको हो ।

“सोमबार सार्वजनिक विदा परेकाले अदालत बन्द भयो,” डीएसपी चुडालले भनिन्, “अदालत खुलेपछि पक्राउ परेका अभियुक्तको म्याद थप गरी विस्तृत अनुसन्धान गरिनेछ । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको पनि खोजी भइरहेको छ ।”

अशोज ७, २०८२, बिहानको ०९:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर