विराटनगर । गत भदौमा ‘जेन–जी’ समूहको आन्दोलनका क्रममा कोशी प्रदेश सभा सचिवालयबाट लुटिएका सामग्रीहरू फिर्ता दिन प्रहरीले अस्वीकार गरेको छ । प्रदेशसभाले लुटिएका सामग्री फिर्ता गर्न सूचना जारी गरेपछि केहि सामान विराटनगरस्थित वडा प्रहरी कार्यालयमा जम्मा भएको थियो ।
अवस्था सामान्य भएपछि प्रहरीमा जम्मा भएको सामग्री लिन गएका सचिवालयका कर्मचारीलाई प्रहरीले ‘प्रदेश नै खारेज हुन्छ’ भन्दै सामग्री नदिइ फर्काएको हो । गत भदौ २४ गते आन्दोलनको क्रममा प्रदेशसभामा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
प्रदेश सभा सचिवालयले भदौ २७ गते एक सार्वजनिक सूचना जारी गरी लुटिएका सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको थियो । सूचनामा सचिवालय परिसरबाट गाडी, मोटरसाइकल, कम्प्युटर, ल्यापटप, प्रिन्टर, क्यामेरा, फर्निचर र कर्मचारीका निजी सवारीसाधन समेत लुटपाट भएको जनाइएको थियो ।
सचिवालयको सूचनापछि लुटिएका सामान ‘बाटोमा फेला परेको’ भन्दै केहि व्यक्तिले बुझाउन प्रदेशसभामा पुगेका थिए । प्रदेशसभाको सबै संरचना जलेको कारण ती सामग्री वडा प्रहरी कार्यालयमा बुझाउन प्रदेशसभाले आग्रह गरेपछि प्रहरीमा नै ती सामग्री जम्मा भएको बताइएको छ ।
प्रहरीमा जम्मा भएको सामग्री लिन सचिवालयले असोज २ गते वडा प्रहरी कार्यालयलाई पत्र पठाएको थियो । पत्रमा फिर्ता भएका सामग्रीको विवरण उपलब्ध गराई हस्तान्तरणमा सहयोग गर्न अनुरोध गरिएको छ ।
पत्रसहित कर्मचारीहरू सामान लिन प्रहरी कार्यालय पुग्दा प्रहरीले नदिएको हो । सचिवालयका एक कर्मचारीका अनुसार प्रहरीले प्रदेशको भविष्य अनिश्चित रहेको भन्दै सामान दिन अस्वीकार गरेको थियो । के–के सामान फिर्ता भएछ भनेर हेर्न खोज्दासमेत ‘गोलीगट्ठाको बीचमा ती सामग्री छन्’ भनेर हेर्न नदिएको सचिवालयका कर्मचारीले बताएका छन् ।
वडा प्रहरी कार्यालय प्रहरी निरीक्षकलाई पत्र दिएर सामग्री फिर्ता माग्दा उनले प्रदेश खारेज हुने भनेर सामग्री हेर्नसमेत नदिएपछि कर्मचारीहरु फिर्ता भएका थिए । प्रहरीको व्यवहारले कर्मचारी आश्चार्यमा पर्दै फर्किएका छन् ।
भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा प्रदेश सभा भवनमा ठूलो क्षति पुगेको थियो । प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा सचिवालयका दुई वटा भवन काम नलाग्ने गरी जलेर नष्ट भएका छन् । सचिवालयका अनुसार आगजनीबाट ८ वटा चार पाङ्ग्रे गाडी, ११ वटा मोटरसाइकल र २ वटा स्कुटर पूर्ण रूपमा नष्ट भएका छन् । यस्तै बैठक हल, फर्निचर, एसी, कम्प्युटर लगायतका विद्युतीय उपकरणहरू पनि चोरी र नष्ट भएका छन् ।
समितिका दुई जना सभापति चढ्ने गाडीसमेत जलेर खरानी भएको छ । सामाजिक विकास समितिका सभापति गयान्नद मण्डल र प्राकृतिक स्रोत तथा पुर्वधार विकास समितिको सभापति होमबहादुर थापा चढ्ने गाडी आन्दोलनकारीले जलाएका हन् । मण्डल चढ्ने गाडी प्रदेसभामै थियो भने थापा चढ्ने गाडी एमालेको केन्द्रीय कार्यालयमा थियो ।
प्रदेश सभा सचिवालय हाल आगलागीबाट बचेकोक मिडिया सेन्टरसहित दुई वटा कोठाबाट आफ्नो काम सञ्चालन गरिरहेको छ । क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको सचिवालयका सुचना अधिकारी निरोज ढकालले बताए ।
प्रहरीमा बुझाएका सामग्री फिर्ता नभएपछि अहिले भने प्रदेशसभाले आफैंले सामग्री बुझ्न थालेको छ । प्रदेशसभाको गेटसमेत तोडिएकाले अहिले पनि सामग्री चोरी हुने डर उत्तिकै रहेको प्रहरीले जनाएको छ । प्रदेशभामा ३३ जना सुरक्षाकर्मीको दरबन्दी रहेपनि अहिलेसम्म प्रहरीले सुरक्षाकर्मी पठाएको छैन ।
वडा प्रहरी कार्यालयले भने प्रदेशसभाको सामग्री फिर्ता गर्ने तयारी भइरहेको बताएको छ । वडा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनमोल खड्काले सामग्री फिर्ता गर्न भनेर आफूले निर्देशन दिइसकेको बताए । ‘मैले त्यो प्रकृया बढाउन भनेको छु’ उनले भने ‘प्रदेश खारेज हुन्छ भनेर मैले भनेको छैन, अरु कसले भने भने मलाई थाहा छैन ।’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।