‘जेन जी’ आन्दोलन : मोरङमा कोइराला निवाससहित १५ निजी घरमा तोडफोड र आगजनी

विराटनगर । गत भदौ २३ गते ’जेन जी’ आन्दोलनपछि भदौ २४ गते भएको आगजनी र तोडफोडबाट मोरङमा १५ वटा निजी घरहरुमा क्षति पुगेको छ ।

मोरङमा विभिन्न राजनीतिक व्यक्तित्वहरूको घरमा शृंखलाबद्ध रूपमा आगजनी र तोडफोड भएको थियो ।

अराजक समूहको निशानामा विशेषगरी नगर प्रमुख, सांसद तथा पूर्वमन्त्रीहरूदेखि वडाध्यक्षसम्म परेका छन् । उनीहरूको व्यक्तिगत सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

यी घटनाहरूमध्ये सबैभन्दा ठूलो क्षति विराटनगरस्थित कोइराला निवासमा भएको छ । कोइराला निवासलाई प्रदर्शनकारीहरूले पूर्ण रूपमा आगजनी गरेर नष्ट गरेका छन् । देशको राजनीतिक इतिहाससँग जोडिएको यो ऐतिहासिक घर जलेर खरानी हुँदा महत्त्वपूर्ण दस्तावेज, तस्बिर र स्मृति चिन्हहरू नष्ट भएका छन् ।

यसैगरी विराटनगर १ मा कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री जीवन आचार्यको घरमा तोडफोडपछि आगजनी गरिएको थियो । विराटनगर १ मै पूर्वमन्त्री शिवकुमार मण्डलको घरमा पनि तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।

विराटनगर १ का वडाध्यक्ष काजीबहादुर बस्नेतको घरमा पनि आगजनी भएको थियो । संघीय सांसद ऋषिकेश पोख्रेलको घर तोडफोड गरि फर्निचरसहितका सामान बाहिर निकालेर आगजनी गरिएको थियो ।

सुन्दरहरैंचा नगरपालिकामा पनि आक्रमणको शैली उस्तै देखिएको थियो । मेयर केदार प्रसाद गुरागाईको घर तोडफोड गरी सामानहरू सडकमा ल्याएर जलाइएको थियो भने नगरपालिकाका पूर्वमेयर शिव ढकाल र पूर्वमन्त्री भानुभक्त ढकालको घरमा पनि झ्याल, ढोका तोडफोड गरी फर्निचरमा आगजनी गरिएको थियो ।

आन्दोलनको यो आगो जिल्लाका अन्य पालिकाहरूमा पनि फैलिएको थियो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापोको घरभित्रका सामान आँगनमा थुपारेर आगो लगाइयो भने रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाको घरमा पनि तोडफोड र आगजनी भएको थियो ।

अशोज ५, २०८२, बिहानको १०:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर